समाचार

केसीलाई काठमाडौँ ल्याउने क्रममा भएको झडपमा परेकाको स्वास्थ्योपचारको व्यवस्था मिलाउन आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आमरण अनशनरत प्रा डा गोविन्द केसीलाई काठमाडौँ ल्याउने क्रममा भएको झडपका क्रममा घाइते भएका चिकित्सक, विद्यार्थी एवं प्रहरीलाई निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आज प्रेस विज्ञप्ति जारी गरी प्रा डा केसीलाई काठमाडौँ लैजान अनशनस्थल पुग्नुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कानूनमन्त्री नरेश भण्डारी र सुरक्षाकर्मीलाई अवरोध गर्ने क्रममा प्रहरीले लाठीचार्ज गर्दा झडप भएको बुझिएको जनाउँदै अस्पतालमा प्रहरीबाट भएको लाठी प्रहार रोक्न आयोगले गृहमन्त्रीलाई तत्कालै मौखिक निर्देशन दिएको जनाएका छन् ।

हिंसा र अनुचित बल प्रयोगबाट मानवाधिकारको संरक्षण हुन नसक्ने जनाउँदै आयोगले सार्थक वार्ता र संवादबाट समस्या समाधान गर्न आग्रह गरेको छ ।