साहित्य

‘सहस्राक्ष’ काव्य र ‘मैले पढेका कथा’ बजारमा

काठमाडौँ । लेखिका सीता भट्टराईले लेखेको छन्द कविताको कृति ‘सहस्राक्ष’ र कथासंग्रह ‘मैले पढेका कथा’ आजदेखि बजारमा आएको छ ।

‘मुक्तिनाथ बाबा’ महाकाव्यका कृतिकार भट्टराईले सम्बुद्ध, सम्प्रेषित, सम्प्राप्ति र सम्मिश्रित गरी चार खण्डमा विभाजन गरी सामाजिक विकासका लागि एक हजार आँखा तथा दृष्टिकोण हुनुपर्ने भावनासहित कविता रचना गरेका छन । त्यस्तै २१ कथा समावेश गरिएको कथासंग्रहमा समाजमा व्याप्त बेथिति र त्यसले निम्ताएका अनेकौँ समस्या, हिंसा र विकृतिका कारणले सिंगो देशको विकास र समृद्धिमा अवरोध पुगेको सन्देश दिइएको छ ।

देशको अस्थिर अवस्थाले सर्वसाधारण नागरिकलाई दिनहुँ परेको दुःख तथा जीविकोपार्जनमा आएको समस्यालाई लेखिकाले विभिन्न चरित्रको माध्यमबाट प्रष्ट पारेका छन् । वास्तविक जीवनमा ज्ञानको स्रोत नै प्रकृतिलाई मानिएको उक्त कृतिमा धेरैजसो कथाको प्रारम्भ प्रकृतिका मनमोहक वर्णनबाट शुरु भएको छ ।

भौतिक सुखलाई भन्दा लामो समयसम्मको आत्मिक सुखमा विश्वास गर्दै अध्यात्मवादी विचार, भगवान्प्रति आस्थाको भावका साथै भौतिक विचार पनि कृतिमा पाइन्छ । एउटा परिवारले गरिबी तथा अभावमा पनि खुशी प्राप्त गरेको र सोही परिवार धनी भएपछि सम्पत्तिका कारण छोराछोरी बिग्रिएको प्रसंग पनि कथामा छ ।
शहरी जीवन भौतिक सुखसुविधाले युक्त र ग्रामीण समाज स्वच्छ, आत्मिक र छलछालमुक्त हुन्छ भन्ने अनुभव पनि कथामा दिइएको छ ।

कर्म नै सफलताको सूचक वा सूत्र भएको र मानिसले गरेका सत्कर्मबाट जीवनकालमा नै मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने धारणा कथामा पाइन्छ । अहिलेको विकसित संसारमा मानवताले ज्ञान, विज्ञान र आस्तिकतालाई जोडेर राख्छ र मान्छेले नै मान्छेलाई सहयोग, सद्भाव राख्दा जीवन अर्थपूर्ण हुने भाव कृतिमा छ ।