प्रदेश 1

बुहारी समूहबाट रु ४९ हजार

बनियानी । बुहारी समूह (म्यारिड ओमन सर्कल) नामक फेसबुक समूहले चार दिनको एक शिशुलाई उपचारका लागि रू ४९ हजार आर्र्थिक सहयोग गरेका छ ।

नशामा पलाएको ट्युमरका कारण मर्नु न बाँच्नुको अवस्थामा पुगेका शिशुको सफल शल्यक्रिया भए पनि अस्पतालको शुल्क बुझाउन नसकी छट्पटाइरहेका बाबुआमालाई फेसबुकको सो समूहले आज उक्त सहयोग गरेको हो ।

रवीना र मनकुमार राजवंशीका छोरा जन्मेको चार दिनमै नशामा ट्युमर देखा परेपछि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा शल्यक्रिया गरिएको थियो । शल्यक्रिया भए पनि अस्पतालमा बुझाउनुपर्ने रकम बुझाउन नसकेर राजवंशी दम्पत्ती समस्यामा परेकोसमूहले थाहा पाएपछि शिशुका बाबु मनकुमारलाई रकम सहयोग गरिएको समूहकी राधा आचार्यले जानकारी दिए ।

विसं २०७४ जेठ ११ गते गठित सो समूहले महिलालाई आत्मनिर्भर बनाउँदै विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको अर्की सदस्य रवीना शर्माले जानकारी दिए ।

समूहले खुशीव चाइल्ड केयर सेन्टरका बालबालिकालाई खाद्यान्न, काठमाडौँकी मिर्गौलापीडित लक्ष्मी रानालाई रू १० हजार, रक्त अर्बुदरोगपीडित सवनम खातुनलाई रू ४० हजार, विभिन्न क्षेत्रका बाढीपीडितलाई नगद तथा जिन्सी सहयोग गर्दै आएको समूहकी उर्मिला गौतमले सुनाए । समूहमा स्वदेश तथा विदेशका करीव छ हजार बुहारी आबद्ध छन् ।