प्रदेश 1

एम्बुलेन्सको ठक्करबाट राईको मृत्यु

दमक । एम्बुलेन्सको ठक्करबाट झापा, कमल गाउँपालिका–५ का ६५ वर्षीय देउमान राईको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गको चुलाचुलीमोडस्थित सडकखण्डमा आज बिहान एम्बुलेन्सले ठक्कर दिँदा स्थानीय पैदलयात्री राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

पाँचथरबाट आउँदै गरेको मे१च ९९२ नंको एम्बुलेन्सले ठक्कर दिँदा एम्बुलेन्स सडकदेखि उत्तरतर्फ पल्टिएको थियो । तर एम्बुलेन्स चालक सन्तोष पराजुलीले भने चरनमा रहेको गाईलाई ठक्कर दिँदा दुर्घटना भएको बताउँदै ढाकछोप गरेका थिए । तर प्रहरीले दुर्घटनाका बारेमा थप अनुसन्धान जारी राखेपछि घटना भएको करीब १२ घण्टापछि दिउँसो ती पैदलयात्रीको मृत्यु भएको चालकले स्वीकार गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

घटनापछि शव सडक नजिकको झाडीबाट निकालेर परीक्षण गरिएको प्रनाउ गिरीले बताए । प्रहरीले दुर्घटनामा संलग्न एम्बुलेन्स र चालक पराजुलीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।