गण्डकी प्रदेश

उद्यमशीलता बढाउन घुम्ती कोष

बाबियाचौर, म्याग्दी । अन्नपूर्ण गाउँपालिका– २ भुरुङ तातोपानीमा गरीब, विपन्नलाई उद्यमशीलताप्रति आकर्षित गरी आयआर्जन सुधारका लागि घुम्ती कोष स्थापना गरिएको छ ।

वडा समितिको प्रस्तावमा गाउँपालिकाले रु तीन लाखको घुम्ती कोष स्थापना गरेको हो । छ वटा टोल सुधार समितिमार्फत घुम्ती कोष परिचालन गरिएको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए।

आर्थिकरुपमा पिछडिएको समुदायलाई उद्यम व्यवसाय गर्नका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने उद्देश्यले प्रत्येक सामुदायिक संस्थामार्फत रु ५० हजारका दरले परिचालन गरिएको छ ।

घुम्ती कोषको रकमबाट २० जनाले बाख्रापालन, कुखुरापालन, तरकारीखेती, फलफूल खेती, सिलाइकटाइ, आरनलगायतका व्यवसाय शुरु गरेका छन् । घुम्ती कोषको रकम बाहेक सर्वसाधारणले व्यवसायमा स्वलगानीसमेत गरेका छन् । पूर्वाधार निर्माणसँगै सामाजिक सशक्तीकरण र आयआर्जन सुधारका कार्यक्रममा जोड दिइएको वडाध्यक्ष फगामीले बताए ।