समाचार

काठमाडौँमा गर्मी बढ्यो

काठमाडौँ । बिहान र बेलुका सामान्य वर्षा भए पनि दिउँसोपख निरन्तर घाम लाग्ने गरेका कारण तापक्रम वृद्धि भई काठमाडौँ उपत्यकामा गर्मी बढेको छ । मनसुनी वर्षा तुलनात्मकरुपमा कम भई चर्को घाम लाग्दा दुई दिनदेखि उपत्यकाको तापक्रम बढेको हो ।

काठमाडौँसहित देशभर अझै एक/दुई दिन गर्मी बढ्ने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए वायुमण्डल सफा भई घाम सिधा जमीनमा पर्ने भएकाले एक्कासी तापक्रममा वृद्धि आएको हो ।

मनसुन न्यूनचापीय रेखा नेपालको तलतिर रहेकाले अहिले खण्ड खण्डमा वर्षा हुने गरेको छ । आगामी असार ५ गतेदेखि मनसुनी गतिविधि पुनः सक्रिय भई देशको मध्य र पूर्वी भेगमा वर्षाको सम्भावना रहेको मौसमविद् अर्यालको भनाइ छ ।

हिजो बुधबार र आज काठमाडौँको अधिकतम तापक्रम ३१.६ र न्यूनतम तापक्रम २१.४ डिग्री सेल्सियस रह्यो । एक साताअघि उपत्यकाको अधिकतम तापक्रम २४ देखि २७ सम्म पुगेको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३८.३ र न्यूनतम २६.८ डिग्री सेल्सियस पुगेको छ । सबैभन्दा कम जुम्लाको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको छ । आज ताप्लेजुङमा २९, डडेलधुरामा १६ र नेपालगञ्जमा ६ मिलिमिटर वर्षा भएको छ ।