बाग्मती

पहिरोले घर पुर्दा चार घाइते

त्रिशूली, नुवाकोट । यहाँको सूर्यगढी गाउँपालिका–३ चोकदेमा पहिरोले घर पुर्दा चार जना घाइते भएका छन् । अविरल वर्षाका कारण आज बिहान ४ बजे घरमाथिबाट आएको पहिरोले नवराज श्रेष्ठकोे दुईतले कच्ची घर भत्काउँदा ५० वर्षीय निजका साथै उनकी श्रीमती ४६ वर्षीया निरु, छोरी २२ वर्षीया निशा र १८ वर्षीय छोरा विकास घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

घाइतेहरूलाई स्थानीय प्रहरीले उद्धार गरेर विदुरको सिटी अस्पतालमा उपचारका लागि लगेकामा अहिले उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घरमा किराना पसल र घरसँगै रहेको गोठमा १३ वटा बाख्रा, कुखुरा मर्नुका साथै घरभित्र रहेको सरसामग्री नष्ट भएको छ । प्रहरीले रु ६० लाख बराबरको क्षति भएको अनुमान गरेको छ ।

यस्तै गए रातिको वर्षाकै कारण यहाँको तादी गाउँपालिका–५ बञ्चरेमा दुईवटा घर तथागोठ र खानेपानीको ट्याङ्की पहिरोले पुरेको छ । पहिरोका कारण अन्य ११ घर जोखिममा परेको छ । बञ्चरेका वीरबहादुर तामाङ स्याङतानको घर तथा गोठ पहिरोले पुर्दा भित्र रहेको बाख्रा सात, कुखुरा १० वटा र अन्नपात लत्ताकपडा गरी रु १५ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

यसैगरी सोही स्थानका हरिबहादुर लामाको घर तथा गोठ पहिरोले पुर्दा गाईभँैसी अन्नपात लत्ताकपडा गरी रु १५ लाखबराबरको क्षति भएको र सोही गाउँमा रहेको खानेपानीको ट्याङ्की पहिरोले भत्काउँदा रु सात लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तादी–५ बञ्चरेमा पहिरोको कारण ११ घर जोखिममा परेकाले उनीहरू सुरक्षित स्थानमा बसेका छन् ।