समाचार

स्वतन्त्रता दिवसमा मानवीय सहायता र परोपकारी कर्म, कूटनीतिमा नयाँ अभ्यास

शरच्चन्द्र भण्डारी / काठमाडौँ । विगतमा तारे होटलमा रात्रिभोज गरेर स्वतन्त्रता दिवस मनाउँदै आएको पश्चिम एशियाली मुलुक इजरायलले यो वर्ष आफ्नो स्थापनाको ७० वर्ष र परराष्ट्र मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय सहयोग निकाय मसाभ स्थापनाको ६० औं वार्षिकोत्सवका अवसरमा आज राजधानीमा नितान्त पृथक कार्यक्रमको आयोजना ग¥यो ।

इजरायली राजदूतावासको लोककल्याणकारी उक्त कार्यलाई कूटनीतिक वृत्तमा नयाँ र अनौठो अभ्यास मानिएको छ ।

विश्वका १४० देशमा मानव संशाधन विकास, कृषिको आधुनिकीकरण, जल व्यवस्थापनलगायत जीवनोपयोगी इलम सिकाउँदै आएको मसाभ स्थापनाको दुईवर्षपछि नेपालसँग कूटनीतिक सम्बन्ध कायम गरेको इजरायलले नेपालमा पनि तिनै विषयमा केन्द्रित रहेर विकास सहायता प्रवाह गरिरहेको छ ।

स्वतन्त्रता दिवस मनाउन छुट्याइएको रकम अपाङ्ग बालबालिकाहरुको हिँडडुलमा पहुँच र आत्मनिर्भरता वृद्धि गरी जीवनमा सहजता ल्याउन विशेष कार्यमा खर्च गर्ने निर्णयसँगै नेपालका लागि इजरायली राजदूत बेन्नी ओमेरले लायन्स क्लब काठमाडौँ क्यापिटल डिस्ट्रिक्ट ३२५– ए २ र करुणा फाउन्डेसन नेपालसँगको सहकार्य रोजे ।

इजरायलका प्राविधिकहरूले विशेषरुपमा बालबालिकाहरुका लागि तयार पारिएका ४० वटा ‘व्हिल चेयर अफ होप’ पाँचदेखि ३६ वर्ष उमेर समूहका अपंगता भएका व्यक्तिलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राजदूत आमेर, लायन्स क्लव ईण्ट्रन्यासनलका डिस्ट्रिक्ट ३२५–ए २ का डिस्ट्रिक्ट गभर्नर सुदर्शनधर प्रधानाङ्गलगायतले उनीहरुलाई व्हिल चेयर प्रदान गरे ।

हिँडडुल गर्न सुविधायुक्त अतिहलुको व्हिल चेयर पाएर दंगपरेका बालबालिकालाई देखेर भावुक भएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको संविधानले नै शारीरिक रुपमा अपांगता भएका बालबालिकालाई सार्वजनिक सेवा सहुलित प्रदान गर्नुका साथै पेशागत अन्य काममा आरक्षणको व्यवस्था गरेको चर्चा गर्दै पृथक रुपमा सक्षम सबैको वृत्ति विकासमा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एकदशक लामो द्वन्द्वले पनि अपागंता भएका व्यक्तिको संख्यामा वृद्धि गराएको उल्लेख गर्दै उनले समाजमा सम्मानित जीवनयापनमा उनीहरुप्रति सकारात्मक भएर समाजका सबै वर्ग प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

नेपालको सामाजिक–आर्थिक विकासमा इजरायल सरकारद्वारा निरन्तर प्राप्त सहायताको सराहना गर्दै मन्त्री ज्ञवालीले भूकम्पपछि मानवीय सहायताका साथै चिकित्सको ठूलो टोली खटाएर अस्पताल नै स्थापना गरी बिरामीको उपचार गरेकामा इजरायलको प्रशंसा गरे ।

दुई देशबीच हालै भएको परामर्श संयन्त्रको बैठकबाट आफू सन्तुष्ट रहेको बताउँदै उनले आपसी सहकार्य र सहयोगका क्षेत्र भविष्यमा अझ विस्तार हुने विश्वास व्यक्त गरे ।

शारीरिक रुपले अशक्त बालबालिकालाई व्हिल चियर वितरण गर्ने राजदूतावासको यो प्रशंसनीय र मानवीय कार्यको सराहना गर्दै मन्त्री ज्ञवालीले यसले ती बालबालिकालाई हिँडडुल गर्नमात्र होइन, जीवनमा पूर्ण क्षमता विकास गर्न पनि सहयोग हुनेछ भने ।

राजदूत ओमेरले यस्तो मानवीय कार्यमा राजदूतावासले केही सहयोग गर्न सकेकामा सन्तुष्टि व्यक्त गर्नुका साथै यस्तो विशेषखालको, हलुका र आरमदायी व्हिल चेयरको प्रयोगले यी बालबालिकामा आफै स्वतन्त्र भएर हिँडडुल गर्न सक्ने क्षमता बढाउने छ भने ।

भविष्यमा पनि यस्ता मानवीय कार्यमा इजरायली राजदूतावासले सहायोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

लायन्स क्लव ईण्ट्रन्यासनलका डिस्ट्रिक्ट ३२५–ए२ का डिस्ट्रिक्ट गभर्नर प्रधानाङ्गले सन् १९१७ मा ‘हामी सेवा गर्छौ’ भन्ने मूल नारा सहित स्थापना भएको लायन्स क्लव ईण्ट्रन्यासनलले विश्वभर २०४ देशहरुमा रहेका आफ्ना १४ लाख सदस्यमार्फत जनताहरुलाई सेवा प्रदान गर्दै आएको बताए ।

लायन्स क्लबहरु मानवीय संगठनहरु हुन्, जसले डायविटिज, न्यूनदृष्टि र बाल्यकालमा हुने क्यान्सर नियन्त्रण गर्ने, वातावरण संरक्षण गर्ने, राहत वितरण गर्ने जस्ता मुख्यकार्य गर्दछन् । त्यस्तै गरी लायन्स क्लब ईण्ट्रन्यासनल, एम डि ३२५ नेपालका मल्टिपल काउन्सिलका अध्यक्ष लायन डिआर खनालले नेपालमा ३० हजार लायनले असाहय जनता लक्षित आयोजनामा मानवीय सहयोग गर्दै आएको बताए ।

हाल भूकम्प प्रभावित क्षेत्रमा ३० वटा विद्यालय निर्माण भइरहेको र हालै नेपाल सरकारसँगको सहकार्यमा एक करोड बालबालिकाहरुलाई दादुराविरुद्ध रुबेला खोप दिएको जानकारी गराए ।

करुणा फाउण्डेशन नेपालका उपाध्याक्ष प्रा डा भगवान् कोइरालाले बालबालिकाहरु अपाङ्ग हुनबाट बचाउन, अपाङ्ग बालबालिका तथा वयस्क र तिनका परिवारहरुको जीवनस्तरमा सुधार गर्न लक्षित फाउण्डेशनका कार्यक्रमहरुबारे जानकारी दिए ।

सातै प्रदेशमा बालबालिकाका निम्ति अस्पताल निर्माण गर्ने पनि उनले बताए ।