समाचार

महादेवको बाहन बसाहाको अनावरण

भक्तपुर । सूर्यविनायक नगरपालिका– ८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा स्थापना गरेको महादेवको बाहन बसाहाको आज अनावरण गरिएको छ ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आज मन्दिर प्राङ्गणमा आयोजना गरेको कार्यक्रममा स्वामी चुडामणि महाराजले बसाहाको अनावरण गरेका हुन् ।

अनावरण गरिएको बसाहा काभ्रेको कुसादेवीबाट ल्याएको ३० टन ठूलो ढुंगालाई खोपेर चाँगुनारायण नगरपालिका– ८ सुडालका पूर्ण कुसुमले तयार पारेको १६ टन अर्थात १६ हजार किलोग्रामको १० फिट लम्बाइ ४० इन्च गोलाई भएको रहेको छ ।

बसाहा निर्माणका लागि रु ८ लाख खर्च भएको र सो खर्च शम्भु बुढाथोकीले दिनुभएकोे समितिले जनाएको छ ।

सो अवसरमा स्वामी चुडामणि महाराजले चारधाम नेपालमै रहेकाले त्यसको दर्शन गर्न भारत गईरहनु नपर्ने उल्लेख गर्दै डोलेश्वर चारधाममध्येकै एक धाम भएको बताए ।

प्रदेशसभा सदस्य शशीजंग थापाले भक्तपुर धार्मिकस्थलको प्रखर गन्तव्य रहेको चर्चा गर्दै सूर्यविनायक नगरपालिकामा डोलेश्वरसँगै अन्य चर्चित शिवालय भएकाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिका क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना बनाउन लागेको बताउँदै डोलेश्वरको महत्वमाथि प्रकाश पारे ।

समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष किरण थापा, संरक्षक भरत जंगम लगायतले डोलेश्वरको महत्वमाथि प्रकाश पारे ।

डोलेश्वरमा आजदेखि एक महिने साउन मेला शुरु भएको छ । उक्त मेला भदौ ६ गतेसम्म सञ्चालन हुनेछ ।

आजै सिपाडोलको पौखेलको पीपलचौतारीबाट चन्द्रविनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलशयात्रा आयोजना गरिएको थियो ।