स्वास्थ्य

एचआइभी वृद्धिदरमा उल्लेखनीय परिवर्तन आएन

काठमाडौँ । भारतमा काम गरी फर्केका पुरुष आप्रवासीका श्रीमतीहरुमा एचआइभीको वृद्धिदरमा उल्लेखनीय परिवर्तन आउन सकेको छैन । सन् २०१०मा सो दर शून्य दशमलव ८ रहेकामा आठ वर्षको अन्तरालमा सो दर शून्य दशमल ५ मा मात्र झरेको छ । सन् २००८ मा सो दर ३ दशमलव ३ रही उच्चबिन्दुमा रहेको थियो ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले आज यहाँ सार्वजनिक गरेको प्रतिवेदनमा अछाम, डोटी, कैलाली र कञ्चनपुर गरी चार जिल्लाका ४०० महिलामा गरिएको सर्वेक्षणले सरकारका एचआइभी नियन्त्रणका कार्यक्रम खासै प्रभावकारी नभएको देखाएको हो ।

अर्कोतर्फ महिला यौन व्यवसायीहरुमा एचआइभी वृद्धिदरमा भने सर्वेक्षणले केही सुधारको संकेत देखाएको छ । तराईका झापा, मोरङ, सुनसरी, सप्तरीसहित धादिङ, मकवानपुरलगायतका २२ जिल्लामा गरिएको सर्वेक्षणले सन् २०१५ मा शून्य दशमलव ८ रहेको सो दर सन् २०१८ मा शून्य दशमलव ७ मा झरेको देखाएको छ ।

केन्द्रका उपमहानिर्देशक डा. पुरुषोत्तमराज सेँढाईले एचआइभीको रोकथामका लागि बनेका नीति, योजना तथा कार्यक्रमको अवस्था र एचआइभीको अवस्था बुझ्न सर्वेक्षणले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सर्वेक्षणले पुरुष समलिङ्गी/तेस्रोलिङ्गीमा एचआइभीको वृद्धिदर ८ दशमलव २ मा झरेको देखाएको छ । झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर, नवलपरासी, रुपन्देही र कपिलवस्तु गरी आठ जिल्लाका ३४० जनामा सो सर्वेक्षण गरिएको थियो । कार्यक्रममा केन्द्रका जनस्वास्थ्य अनुुुसन्धान अधिकृत वीरबहादुर रावलले एचआइभीको उच्च जोखिम रहेका समुदायमा एचआइभी र यौनरोगको वृद्धिदरमा क्रमशः सुधार हुँदै आएको जानकारी दिए।

केन्द्रले सन् २००३ देखि यस किसिमको सर्वेक्षण गर्दै आएको छ । भारतमा काम गरेर फर्केका पुरुष आप्रवासीहरुमा एचआइभीको वृद्धिदरमासमेत सुधार हुँदै आएको देखाएको छ । सार्वजनिक सर्वेक्षणका अनुसार उनीहरुमा शून्य दशमलव ३ प्रतिशत सो दर रहेको भेटिएको छ । यसैगरी भारतमा काम गरेर फर्केका पुरुष आप्रवासीका श्रीमतीहरुमा सो दर शून्य दशमलव ५ र महिला यौनकर्मीमा शून्य दशमलव ७ रहेको छ ।