प्रदेश 1

मोरङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

विराटनगर । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले खोपको सफल सञ्चालनबाट दर्जनौँ सरुवा रोगबाट मुक्ति मिलेको बताए । जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा आज यहाँ आयोजित ‘पूर्ण खोप सुनिश्चितता जिल्ला मोरङ’ घोषणा कार्यक्रममा उनले सो कुरा बताउँदै यस कार्यक्रमलाई निरन्तरता दिइरहनुपर्छ भने ।

शारीरिक परिश्रम नगर्नेले रोगबाट छुटकारा पाउन शारीरिक व्यायाम तथा योग गर्नुपर्ने समय आएको चर्चा गर्दै सामाजिक विकास मन्त्री घिमिरेले रोगको स्रोतका रुपमा रहेको चर्पी र पानीलाई सफा राख्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिए । प्रदेश नं १का प्रदेशसभा सदस्य जयराम यादवले खोपका कारण बाल मृत्युदर घटेकाले यसतर्फ सबैको ध्यान जानु जरुरी छ भने ।

प्रस्तुत प्रतिवेदनमा मोरङमा २० हजार ७५ पाँच वर्षमुनिका बालबालिकामा १९ हजार ४७५ जनालाई पूर्ण खोप लगाइसकेको र यो जिल्ला खोपमा ९५ प्रतिशतभन्दा बढी लक्ष्य हासिल गरेको बताइएको छ । मोरङमा आठ गाउँपालिका, आठ नगरपालिका र एक महानगरपालिकासमेत गरी ३३३ वटा खोप केन्द्र रहेको र सन् २०१६ को स्वास्थ्य सर्वेक्षणमा यस जिल्लामा एक प्रतिशत बालबालिकाले कुनै पनि खोप प्रयोग नगरेको जनाइएको थियो ।

‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने प्रमुख नाराका साथ आयोजित सो कार्यक्रममा पूर्ण खोप सुनिश्चित घोषणा भएको जिल्लाको रूपमा आज ५५औँ स्थान पाउन सफल भएको र प्रदेश नं १ मा ११ वटा जिल्ला पूर्ण खोप जिल्ला घोषणा भइसकेको खोप अधिकृत श्रेष्ठले जानकारी दिए ।