सूचना प्रविधि

युवा पत्रकारिता पुरस्कार गिरीलाई

काठमाडौँ । राष्ट्रिय युवा परिषद् जिल्ला युवा समितिको कार्यालय भक्तपुरले राष्ट्रिय समाचार समिति भक्तपुरका संवाददाता रमेश गिरीलाई ‘युवा पत्रकारिता पुरस्कार २०७५’ प्रदान गरेको छ ।

कार्यालयले आज आयोजना गरेको जिल्लास्तरीय युवा उद्यमी पहिचान तथा सम्मान कार्यक्रममा राससकर्मी गिरीलाई नगद रु चार हजारसहित उक्त पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा साहित्यतर्फबाट रश्मिला कवां, उद्यमीकोतर्फबाट डिभाइन युवा क्लब, सिडल्याण्ड नेपाल र सिद्धि गणेश राइस मिललाई नगद रु चार हजारसहित युवा उद्यमी पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी, युवा प्रतिभा पहिचानअन्तर्गत कार्यालयले आयोजना गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा युवाको भूमिका विषयको वादविवाद प्रतियोगिताका विजयीलाई पनि पुरस्कार प्रदान गरेको छ । प्रतियोगितामा प्रथम हुने सानोठिमी क्याम्पसका विद्यार्थी उज्जवल पाण्डे, क्याथफोर्ड कलेजका प्रवीण पाठक, सैनिक आवासीय महाविद्यालयकी अनुजा दाहाल र ख्वःप कलेजका कविता ढकाललाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रशासकीय अधिकृत मुक्तिसिंह ठकुरीले स्वदेशमै उद्यमी बन्न सरकारले अनुदान, पुरस्कार एवं निव्र्याजी ऋणसमेत उपलब्ध गराउँदै आएकाले उद्यमी बन्न युवा वर्गलाई आग्रह गरे ।

जिल्ला युवा समितिको कार्यालय भक्तपुरका प्रमुख पद्मराज जोशीले युवाको प्रतिभा पहिचान र युवा उद्यमीमार्फत देशमा युवा वर्गलाई उद्यमशीलतामा लाग्न अभिप्रेरित गर्ने लक्ष्यका साथ सरकारले शुरु गरेको पुरस्कारले युवालाई प्रोत्साहन मिल्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले थोरै पैसाका लागि विदेशिने युवालाई रोकेर अब स्वदेशमै सहज रोगजारी पाउने अवस्था सरकारले सिर्जना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मखमलको झोला बुनाइ तालीमका प्रशिक्षार्थीलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।