सूचना प्रविधि

परिवर्तनको संवाहक बन्दै सञ्चारमाध्यम

काठमाडौं । पहाडी जिल्ला म्याग्दीको समग्र विकास र जनचेतना विस्तारमा यहाँ सञ्चालित सञ्चारमाध्यमको भूमिका प्रभावकारी र परिणाममुखी बन्दै गएको छ ।

सञ्चारमाध्यमको विकास र विस्तार सँगसँगै जिल्लामा विकास निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन र आर्थिक क्षेत्रका गतिविधिमा जनचासो र निगरानी बढ्दै जान थालेको छ । लैङ्गिक र जातीय विभेद, घरेलु हिंसा, भ्रष्टाचार, अन्धविश्वासजस्ता सामाजिक कुरीति निरुत्साहित हुँदै गएका छन् । ग्रामीण क्षेत्रका कृषकले सञ्चारमाध्यमबाट प्राप्त गरेका सूचना र समाचारबाट उत्प्रेरित भई व्यावसायिक रुपमा तरकारी, फलफूलखेती र पशुपालन गर्न थालेका छन् । यसले ग्रामीण क्षेत्रका बासिन्दालाई आयआर्जन गर्न सघाएको छ । उनीहरुको जीवनस्तरमा समेत परिवर्तन देखिएको छ ।

आव २०६२÷६३ अघिको तुलनामा म्याग्दीमा अहिले ५०औँ गुणा बढी सञ्चारमाध्यम सञ्चालनमा छन् । सञ्चारमाध्यमको वृद्धि र यसको ग्रामीण क्षेत्रसम्मको पहँुचका कारण अहिले समाजमा परिवर्तनका सकारात्मक संकेत देखिन थालेका छन् ।

सञ्चार अब म्याग्देली जनताको ढुकढुकी नै बनिसकेको छ । सरकारी सञ्चारमाध्यमसँगै निजी सञ्चारमाध्यमको पनि लोकप्रियता बढ्दो छ ।

लाहुरेहरुको जिल्ला भनेर चिनिने यस जिल्लामा पछिल्लो समयमा आएर विप्रेषण र कारोबारका कुराभन्दा पनि घटना, सरोकार, विकास र वातावरणसम्बन्धी कुरा बढी सुनिन थालिएको छ । जिल्लामा एफएम रेडियोको शुरुआतसँगै जनतामा समाचार सुन्ने, विश्लेषण गर्ने, आफ्नो गाउँ ठाउँमा भएका खबर सार्वजनिक गर्ने र सामाजिक कामप्रति अग्रसर हुने प्रवृत्ति बढ्दै जान थालेको छ । यसमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको जिल्ला समन्वय समिति म्याग्दीका सभापति देवेन्द्रबहादुर केसीले बताए ।

देशमा भएको राजनीतिक परिवर्तनसँगै म्याग्दी जिल्लामा पनि सञ्चारको विकास भएको हो । म्याग्दीमा विकास भएको सञ्चारजगत्ले समाज परिवर्तनका लागि राम्रै भूमिका निर्वाह गरेको छ । त्यसो त पत्रकारिताको विषयलाई लिएर कहिलेकाहीँ जिल्लामा टीकाटिप्पणी पनि नहुने होइनन् तर, ती टीकाटिप्पणीको आशय पनि जिल्लामा स्वतन्त्र पत्रकारिताको विकास र तटस्थ सञ्चारमाध्यमको भूमिकामा नै केन्द्रित हुने गरेको पाइएको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको भनाइ छ ।

म्याग्दीकोे पत्रकारिता फस्टाउँदो अवस्थामा छ । अहिले सदरमुकाम बेनीबजारमा दुई दैनिक, चार साप्ताहिक पत्रिका, दुई एफएम रेडियो र छ वटा अनलाइन पत्रिका सञ्चालनमा छन् । रुप्से दैनिक, रिखार दैनिक, बेनी साप्ताहिक, समृद्ध साप्ताहिक, म्याग्दी सञ्चार साप्ताहिक, नवविकल्प साप्ताहिक, म्याग्दीकाली एफएम, रेडियो म्याग्दी, बेनी अनलाइन, म्याग्दी अनलाइन, नव विकल्प अनलाइन, रुप्से अनलाइन, पश्चिम म्याग्दी अनलाइन र गलेश्वर न्यूज अनलाइन सञ्चालनमा छन् । त्यसैगरी काठमाडौँ, पोखरा, कुश्मा र बागलुङबाट प्रकाशित र प्रसारित हुने पत्रपत्रिका, रेडियो र टेलिभिजनको समेत म्याग्दीमा राम्रो पहुँच रहेको छ । धौलागिरिको पहिलो एमएम रेडियो धौलागिरि एफएम र धौलागिरि टेलिभिजनले पनि म्याग्दीको समाज परिवर्तनमा उल्लेख्य भूमिका निर्वाह गरेका छन् । म्याग्दीमा रहेका सञ्चारमाध्यम विशेषगरी सामाजिक जागरण र आर्थिक समृद्धितर्फ अग्रसर देखिएका नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माको बुझाइ रहेको छ ।

समाजमा विद्यमान कुरीति, जनजीविका, संस्कार र संस्कृति संरक्षण, लागुपदार्थ सेवन र यसको असरदेखि लिएर जलविद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षा, राजनीतिलगायत क्षेत्रमा यहाँका सञ्चारकर्मीले बढी कलम चलाएका कारण पनि अहिले जनतामा चेतनाको विकास हुँदै गइरहेको म्याग्दी उद्योग वाणिज्य संघका उपाध्यक्ष बेलबहादुर कटुवालले बताए । दाइजो प्रथा, बहुविवाह र बालविवाह कानूनको हिसाबले दण्डनीय रहेछ भत्रे कुरा सञ्चारमाध्यमबाटै यहाँका आमनागरिकले थाहा पाएका छन् ।

महिलामाथि हुँदै आएको सामाजिक अपराध र घरेलु हिंसाका समाचारसमेत यहाँका सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशन र प्रसारण गर्न थालेपछि जिल्लामा घरेलु हिंसाका घटनामा कमी आएको महिला अधिकारकर्मी एवं मिलन म्याग्दीका सहजकर्ता हीरा पौडेलको भनाइ छ । यहाँका पत्रकारले परोपकारी पत्रकारिताको अभ्यास गरिरहेका र परोपकारको क्षेत्रमा म्याग्दीका सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले बताए ।

समाजमा कुनै महिला पीडित भएमा प्रहरीलाई उजुरी दिनुपर्छ भत्रे चेतनाको विकास राम्रैसँग भएको पाइएको र यसमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको महिला अधिकार रक्षक सञ्जालका अध्यक्ष एवं म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मीले बताए ।

निश्चय पनि पत्रपत्रिकाको तुलनामा यहाँका एफएम रेडियोहरू बढी नै जिल्लावासीको घरदैलोमा पुग्छन् । तर पनि यहाँका सञ्चारमाध्यम खासगरी रेडियोले यस जिल्लाका नागरिकको जति मन जित्नु पर्ने हो त्यति जित्न भने सकेको नपाइएको स्थानीय बुद्धिजीवीले बताएका छन् ।

देश–विदेशमा भइरहेका घटनाक्रमलाई म्याग्दीका ग्रामीण भेगका नागरिकले रेडियो सुनेर नै थाहा पाउने गर्छन् । हुन त सदरमुकाम बेनीबजारमा विभित्र टेलिभिजन प्रसारणमा आउने भए पनि ग्रामीण भेगमा नेपाल टेलिभिजनसमेत राम्रोसँग नआउने जिल्लावासीको गुनासो छ । केबलबाट सञ्चालित टिभी गाउँमा नपुग्नु र सदरमुकाम बेनीबजारबाट प्रकाशित हुने पत्रपत्रिकासमेत नियमित रुपमा समयमै गाउँमा नपुग्ने भएपछि म्याग्दीका ग्रामीण भेगका नागरिकका लागि रेडियो नै एकमात्र सञ्चारमाध्यम बनेको स्थानीय बासिन्दाले बताएका छन् ।

समाज परिवर्तनका लागि विभित्र पत्रपत्रिका र एफएमहरू म्याग्दीमा क्रियाशील भए पनि यहाँका सञ्चारजगत् राज्यबाट प्रदत्त सुविधाबाट भने ठगिएका छन् । यहाँबाट प्रकाशन हुने प्रायः सबै पत्रिका र एफएम लोककल्याणकारी विज्ञापन पाउनबाट वञ्चित छन् । सरकारी कार्यालयका सूचना तथा विज्ञापन समानुपातिक रुपमा एकद्वार प्रणालीबाट वितरण नगरिँदा एक/दुई सञ्चारमाध्यमले मात्र फाइदा लिइरहेका छन् भने अरु मर्कामा परेका छन् । यसतर्फ भने राज्यले चासो दिन अत्यन्तै आवश्यक देखिएको छ ।

सञ्चारमाध्यमकै पहुँचका कारण गाउँमा हुने विकास निर्माणका काममा भ्रष्टाचार हुने क्रम घट्दै गएको स्थानीयवासीले बताएका छन् । त्यसैगरी, गाउँलेमा अन्धविश्वासमा पनि कमी आएको र सामाजिक कामप्रति रुचि बढ्न थालेको बुद्धिजीवीहरुले बताएका छन् । अर्जुन मावि भकुण्डेचौरका प्रधानाध्यापक शिवकुमार खत्री भन्छन्, “रेडियो र पत्रपत्रिकामा नाम आउँछ भनेर पनि कति मानिस सार्वजनिक काममा सरिक हुन थालेका छन् भने संघसंस्थामा नेतृत्व लिन पनि तँछाडमछाड गर्न थालेका छन् ।