गण्डकी प्रदेश

बेलिब्रिज निर्माण

बाबियाचौर, म्याग्दी । फेदिस्थित दाङखोलामा बेलिब्रिज निर्माण भएपछि म्याग्दीको विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका सिधा सडक सञ्जालमा जोडिएको छ ।

धवलागिरि गाउँपालिका– ७ र मालिका गाउँपालिका– ५ को सिमानामा पर्ने दाङ खोलामा रु ३५ लाख आठ हजार ४८ को लागतमा २१।२० मिटर लामो बेलिब्रिज निर्माण गरिएको हो ।

धवलागिरि गाउँपालिकाको रु ३३ लाख २८ हजार अनुदान र दुई लाख ८४ हजार ७८ बराबरको जनसहभागितामा निर्माण भएको पुल शुक्रबारदेखि सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए । धवलागिरि गाउँपालिकालाई जोड्ने एकमात्र दरवाङ–धारापानी–ताकम–मुना सडकमा सिधा र नियमित सवारी सञ्चालन गर्न सकिने भएको छ ।

धारापानी, ताकम, मुना, मुदी, लुलाङ, गुर्जा र ढोरपाटन क्षेत्रका बासिन्दालाई आवतजावत, निर्माण सामग्री, दैनिक उपभोग्य सामानको ढुवानी र गाउँमा उत्पादन भएका कृषि तथा पशुजन्य वस्तु निकासीमा सुविधा पुगेको छ । पुल नहुँदा दाङखोलामा बर्खायाममा सवारी वारपार गर्न नसक्ने अवस्था थियो । बेलिब्रिज बनेपछि सवारी परिवर्तन गरेर यात्रा गर्नुपर्ने बाध्यता हटेको यातायात व्यवसायी खुमबहादुर थापाले बताए ।
विसं २०७० मा दरवाङ हुँदै ताकममा सडक पुगेको थियो । पाँच मिटर अग्लो तीन वटा पक्की पिल्लर बनाइएको पुलमा आठ वटा फलामका बिम राखिएको छ । फलामका बिममाथि सल्लाका काठ राखेर सवारी गुडाउने व्यवस्था मिलाइएको गाउँपालिकाका प्राविधिक दीपेन्द्र थापाले बताए ।

बेलिब्रिजको पिल्लरको दायाँदायाँ ग्याबियन पर्खाल बनाएर संरक्षण गरिएको छ । यो योजना धवलागिरि गाउँपालिकामा चालु आर्थिक वर्षको गौरवको आयोजना भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।