गण्डकी प्रदेश

आगलागीबाट ध्वस्त विद्यालयलाई सहयोग

बेनी, म्याग्दी । आगलागीबाट एक वर्ष अगाडि ध्वस्त भएको बेनी नगरपालिका–४ डाँडाखेतमा अवस्थित बालमन्दिर आधारभूत विद्यालयलाई म्याग्दी समाज अमेरिकाले रु दुई लाख, २१ हजार १७० सहयोग गरेको छ ।

आगलागीबाट विद्यालय ध्वस्त भएपछि दुईतले १० कोठे भवन निर्माण भइरहेको छ । शिक्षा कार्यालय र विभिन्न दाताहरुको आर्थिक सहयोगमा निर्माण भइरहेको सो विद्यालयलाई डाँडाखेत निवासी हाल अमेरिका रहेका मनोज बानियाँले प्रदेश सांसद विनोद केसीमार्फत रु दुई लाख २१ हजार १७० हस्तान्तरण गरेका हुन् ।

शुक्रबार विद्यालयको पुनःनिर्माणको अवस्थाको स्थलगत अनुगमन गर्दै सांसद केसी, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले स्थानीय समुदायको सक्रियतामा भइरहेको भवन निर्माणको अभियानमा प्रवासीबाट प्राप्त सहयोगले सहज भएको बताए ।

सोही अवसरमा जलजला समाज अस्ट्रेलियाबाट रु ४५ हजार र स्थानीयवासी चन्द्रबहादुर चनले रु एक लाख पाँच हजार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बानियाँलाई हस्तान्तरण गरेका थिए ।

भवन पुनःनिर्माणमा दक्षिण कोरियामा रहेका म्याग्देलीको सक्रियतामा ग्लोबल एजुकेशन फर रिपब्लिक अल फाउण्डेशनले समेत सहयोग गरेको छ ।

जिल्ला विकास तथा समन्वय एकाइको बहुवर्षे योजनाअन्तर्गत रु ३६ लाख अनुदानमा बालविकास, पुस्तकालयसहितको चारकोठे भवनसमेत तीव्र गतिमा निर्माण भइरहेको छ । आगलागीबाट कक्षा कोठा, कार्यालय, कम्प्युटर ल्याब र पुस्तकालय रहेको आठकोठे दुईतले भवन पूर्णरुपमा जलेर नष्ट हुँदा रु ९२ लाखबराबरको क्षति भएको थियो ।