साहित्य

निहारिका र ज्ञानमणिलाई योगमाया सम्मान

काठमाडौँ । यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान साहित्यकार नीलम कार्की निहारिका र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान इतिहास तथा संस्कृतिविद् ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ ।
नेपाल स्रष्टा समाजले समाज सुधारक योगमायाका नाममा योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान २०६५ सालदेखि र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान यसै वर्ष २०७५ मा स्थापना गरेको हो ।
यी दुवै सम्मानहरु आगामी साउन ७ गते हरिशयनी एकादशीका दिन एक समारोहबीच प्रदान गरिने समाजले जनाएको छ ।
विसं १९९८ असार २२ गते हरिशयनी एकादशीकै दिन योगमायाका नेतृत्वमा उनीसहित ६८ जनाले तत्कालीन सांस्कृतिक बेथितिका विरुद्धमा अरुण नदीमा जलसमाधि लिएका थिए ।
योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान समाजका अध्यक्ष पवन आलोकले दुई लाखको राशिबाट स्थापना गर्नु भएकामा साहित्यकार रमा शर्माले हालै थप एक लाख रुपैंया प्रदान गर्नु भई यसको अक्षयकोष हाल रु तीन लाख पुगेको छ । यो सम्मानको राशि रु २५ हजार १११ रहेको छ ।
यसैगरी योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान राजेश न्यौपाने र केदारप्रसाद न्यौपानेले यसै वर्ष स्थापना गर्नुभएको हो । यसको अक्षयकोषमा रु दुई लाख रहेको छ । उक्त पुरस्कारको राशि रु २० हजार १११ रहेको छ ।