साहित्य

हिमवत् सम्मिलनमा साहित्य र संस्कृतिबारे विमर्श

काठमाडौँ । हिमवत् खण्ड कला साहित्य सम्मिलनको दोस्रो दिन आज कला, साहित्य, संस्कृति र सभ्यतासम्बन्धी स्वदेशी र विदेशी विज्ञहरुबीच विचार विमर्श भएको छ ।

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय सम्मिलनअन्तर्गत आज कलाकार ठाकुरप्रसाद मैनालीले ‘नेपाली कला संस्कृतिको फैँलदो आकाश र भावी दिशा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै इसापूर्व बनेका प्रस्तर गजलक्ष्मी, अष्टमात्रिका तथा सूर्यका मूर्तिहरुले नेपाली कलाको ऐतिहासिकता झल्काउने गरेको बताए ।

चीनको कला संस्कृतिको विकासमा समेत नेपालीको भूमिका रहेको उनले बताए ।

भारतको सिक्किम विश्वविद्यालयका डीन डा कबिता लामाले ‘भाषिक साहित्यिक विश्वसम्पदाका सन्दर्भमा भानुभक्त’ विषयमा प्रस्तुति गर्दै भानुभक्तीय रामायणलगायत कृतिलाई डिजिटलाइजेसन गर्न सुझाव दिए ।

प्राडा मधवप्रसाद पोखरेलले ‘हिमवत् खण्डको भाषाको उद्भवः नेपाली भाषाको वर्तमान महत्व र स्थिति’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली भाषालाई खसालेर अंग्रेजीलाई पुल्पुल्याउने अवस्था देखिएकोमा चिन्ता प्रकट गरे।

प्राडा जीवेन्द्रदेव गिरीले ‘नेपाली भाषाको साहित्यिक अवस्था र समृद्धिको यात्रा’ विषयमा बोल्दै नेपाली, नेपाल भाषा र मैथिलीमा झै सबै मातृभाषामा साहित्यको विकास हुन सकेमा समृद्धिका लागि टेवा पुग्ने विश्वास व्यक्त गरे ।

ती कार्यपत्रमाथि क्रमशः प्राज्ञ विष्णु प्रभात, लक्ष्मण न्यौपाने (म्यानमार), प्राडा व्रतराव आचार्य र डा जगमान गुरुङले समीक्षात्मक परिपूरण मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हिमवत् खण्ड कला साहित्य सम्मिलनको सफलताको कामना गर्दै यस क्षेत्रका कला र संस्कृतिलाई सियोले धागो उने झैँ एउटै मालामा उन्न सक्नुपर्ने बताए ।

उनले साहित्य र संस्कृतिलाई संमृद्धिसँग जोड्न पनि आग्रह गरे ।

आजै बहुभाषिक कवि गोष्ठी र हास्यव्यङ्य साँझको कार्यक्रम छ भने आइतबार स्रष्टाहरु चन्द्रागिरि पुगेर स्थलगत सिर्जना र समापानमा सहभागी हुनेछन् ।

सम्मिलनको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेका थिए ।