गण्डकी प्रदेश

गंगापूर्ण ताल संरक्षणका लागि पर्खाल निर्माण

मनाङ । अन्नपूर्ण पदमार्गमा पर्ने निस्याङ गाउँपालिका वडा नं ६मा रहेको गंगापूर्ण हिमालको ग्लेसियरले बनाएको गंगापूर्ण ताल संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेपछि स्थानीय तहको पहलमा ताल संरक्षणका लागि पर्खाल निर्माण भएको छ ।
संरक्षणको अभावमा जीर्ण बन्दै गएको यस ताल पटक–पटक विभिन्न सञ्चार माध्यमबाट समाचारको विषय बनेको थियो । उक्त समाचारको प्रभावले स्थानीय निकायको ध्यानाकर्षण गरे पनि स्थानीय तह नै अन्योलमा भएको अवस्था थियो ।

गत वर्ष २०७३/७४को बजेटबाट स्थानीय निस्याङ गाउँपालिकाबाट रु १० लाख बजेट विनियोजन गरेपछि यस तालको वरिपरि पर्खाल निर्माण कार्य शुरु भएको निस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए । उनका अनुसार पोखरा पर्यटन बोर्डबाट रु १० लाख बजेट प्राप्त भएपछि पर्खाल निर्माण कार्य सकिएको हो ।

पर्खाल निर्माणले मात्र तालको पूर्ण संरक्षण नहुने हुँदा ताल संंरक्षणका लागि अझै धेरै काम बाँकी रहेको वडा नं ६का वडाध्यक्ष सोनम गुरुङले बताए । तालको वरिपरि पर्खाल लगाएरमात्र काम पूरा भएको छैन । आफ्नो वडामा रहेको यस ताल मनाङ गाउँकै महत्वपूर्ण सम्पत्ति भएकोले यसको वरिपरि वृक्षरोपण गरी पहिरोबाट जोगाउनु आवश्यक रहेको उनले उल्लेख गरे ।

गंगापूर्ण हिमालको ग्लेसियरबाट बनेको ताल हिमपहिरोको सिकारमा दिनानुदिन पुरिँदै गएको छ । जसको संरक्षणका लागि स्थानीय तहले शुरुवात गरे पनि बजेट अभावका कारण अझै पूरा हुन सकेको छैन ।

वडाध्यक्ष सोनम गुरुङका अनुसार विकास निर्माणका लागि आएको बजेट सबै क्षेत्रमा विनियोजन गर्नुपर्ने भएकाले पनि समस्या भएको हो ।
आगामी वर्षमा पनि यस तालको संरक्षणका लागि आवश्यक बजेट विनियोजन गरी अगाडि बढ्ने उनले बताए । हिमपहिरोका कारण जीर्ण बनेको गंगापूर्ण ताल अबको केही वर्षमा नै संकटबाट मुक्त हुने स्थानीयवासीको आशा छ ।