मनोरञ्जन

‘पिरिम पर्या छन्’ को ट्रेलरमा भरपुर कमेडी

काठमाडौं । साउन २५ गतेदेखि प्रदर्शन हुने कमेडी फिल्म ‘पिरिम पर्या छन्’ को ट्रेलर शुक्रबार सार्वजनीक भएको छ । पुरन थापाको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मको ट्रेलर ओएरआर डिजिटलबाट सार्वजनीक गरिएको हो ।

झण्डै साढे दुई मिनेट लामो ट्रेलरमा दीलिप रायमाझी, जयकिसन बस्नेत, शुभेच्छा थापा, सुवास मेचे, रमेश बुढाथोकी, सोभित बस्नेत, राजाराम पौडेल, चाँदनी कोइराला, उमा कार्की, लय संग्रौला, पुरन थापा, सुरवीर पण्डितका कलाकार प्रस्तुत भएका छन् । माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको फिल्म बिमल ढकालले खिचेका हुन् । गाउँले परिवेशको कथामा निर्माण गरिएको फिल्ममा बिकास चौधरी र बिनोद भुजेलको संगीत र बाबु बलामीको द्वन्द्व छ । फिल्मलाई सुनील मानन्धर र रोहित–रत्नले बितरण गर्दैछन् ।

यसअघि कमेडी फिल्म कान्छी मट्याङ ट्याङ निर्माण गरेका पुरन ‘पिरिम पर्या छन्’ प्रदर्शनपछि अर्काे फिल्म ‘फेरि फेरि’ दर्शक माझ ल्याउने योजनामा छन् । ‘फेरि फेरि’ मा अर्पण थापा र ऋचा शर्मा मूख्य भूमिकामा छन् ।