कृषि

कृषकलाई रु २४ लाखको कृषि उपकरण

सुर्खेत । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुर्खेतले जिल्लाका कृषकलाई रु २४ लाख बराबरको आधुनिक कृषि उपकरण र ढुवानी साधन वितरण गरेको छ ।

व्यावसायिक कृषिको विकास गर्ने उद्देश्यले बिहीबार जिल्लाका विभिन्न स्थानीय तहमा रहेका समूह, सहकारी र कृषि संस्थालाई कृषिजन्य उपकरण र प्रशोधन यन्त्र सहयोग गरिएको हो ।
कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव शिवनारायण चौधरी र उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्दप्रसाद भारीले मिनी ट्रक, थ्रेसर मेसिन, मिनी ट्र्याक्टरलगायत कृषि उपकरण हस्तान्तरण गरे । पोष्ट–हार्भेष्ट सेन्टर कार्यक्रमअन्तर्गत प्रेम स्मृति फर्म अवलचिङलाई मिनी ट्रक प्रदान गरिएको आयोजनाका प्रमुख चित्रबहादुर रोकायले बताए।

त्यसैगरी कष्टम हायर सेन्टर कार्यक्रमअन्तर्गत भेरीगंगा नगरपालिका–१२ छिन्चुस्थित साना किसान कृषि सहकारी संस्थालाई मल्टी थ्रेसर, चाना काट्ने यन्त्र र जेनेटर, भेरीगंगा–९ जहरेको मूलपानी कृषि सहकारी संस्थालाई मल्टी थ्रेसर र डिजिटल ढक तराजु हस्तान्तरण गरिएको छ ।

यसैगरी भेरीगंगा–९ झिगनीस्थित सुन्धरा कृषि तथा पशु सहकारी संस्थालाई जेनेटर, ड्याङ बनाउने यन्त्र र पानी तान्ने मोटर, चिंगाड गाउँपालिका–५ अवलचिङस्थित सिर्जना नगदेबाली कृषक समूहलाई बेसार पिस्ने मिल सेट र हाते मिनी ट्रयाक्टर तथा भेरीगंगा–१२ छिन्चुस्थित सूर्योदय पशुपालन कृषि सहकारी संस्थलाई पावर टेलर, बेसार उसिन्ने यन्त्र र हाते मिनी ट्र्याक्टर प्रदान गरिएको आयोजना प्रमुख रोकायले जानकारी दिए ।

सो अवसरमा उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख भारीले प्राङ्गारिक पदार्थ उत्पादनमा जोड दिन सकेमा कृषक र उपभोक्ता दुवैलाई फाइदा पुग्ने बताए ।