अन्तर्राष्ट्रिय

सैन्य गतिविधि रोक्न राष्ट्रसंघको आग्रह, सिमाक्षेत्रमा २१ लडाकु मारिए

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले गएका केही महिनायतादेखि दक्षिणपश्चिमी सिरियामा भइरहेका सैन्य गतिविधि रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गरी उनले दक्षिणपश्चिमी सिरियामा भइरहेका सैन्य गतिविधिबाट ठूलो सङ्ख्याका नागरिक हताहत भएकोले ती गतिविधि ‘तत्काल रोक्न’ आग्रह गरेका हुन् ।

यस क्षेत्रमा पछिल्ला केही दिनयता सरकारी फौजद्वारा विद्रोही नियन्त्रित क्षेत्रमा सुरक्षा कारबाही कडा पारिएको छ, जसका कारण यहाँका करिब २०० सर्वसाधारणले ज्यान गुमाएका छन् ।

सिरियामा भएका पछिल्ला कारबाहीबाट ठूलो सङ्ख्यामा सर्वसाधारणको मृत्यु भएकोप्रति पनि राष्ट्रसंघ प्रमुख चिन्तित बनेको उनका प्रवक्ता स्टेफन दुजारिकले बताए ।

महासचिव गुथ्रेसले सरकारी सुरक्षा कारबाही भएको दक्षिणपश्चिम क्षेत्रलाई जोर्डन, रूस र संयुक्त राज्य अमेरिकाबीच द्वन्द्वरहित क्षेत्र बनाउन सहमति भएको ध्यानाकर्षण गराएका छन् ।

सीमा क्षेत्रमा २१ लडाकू मारिए

यसैबीच प्राप्त पछिल्लो समाचारमा टर्कीको अर्धसैनिक समूहको आक्रमणमा टर्कीसँग सीमा जोडिएको एक सिरियाली नगरमा २१ जना लडाकू मारिएका छन् ।

टर्कीसँगको सिरियाको सीमा क्षेत्रमा पर्ने नागुर भन्ने नगरमा सोमबार राति भएको कारबाहीमा परी १७ जनाको ज्यान गएको र बुधबार थप चार जना मारिएका टर्कीस् मानवअधिकार अनुगमनकर्ताले जनाएका छन् ।

सिरियामा गएका केही समयदेखि आतङ्ककारीका विरुद्धको कारबाहीलाई निकै कडा बनाइएपछि उनीहरु छिमेकी देश टर्कीतर्फ लाग्ने गरेका छन् ।

यही मौका छोपेर इराक, इरान र टर्कीतर्फबाट उनीहरुमाथि कारबाही गर्ने गरिएको अधिकारवादीले जानकारी दिएका बताइएको छ ।

सिरियामा गएको छ वर्षभन्दा लामो समयदेखि जारी हिंसाका क्रममा परी चार लाखभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ ।