साहित्य

बहुभाषिक कविगोष्ठी

गोदावरी, ललितपुर । नेपाल प्राज्ञ– प्रतिष्ठान मातृभाषा साहित्य विभाग र स्मार्ट माइक्रो रिसर्चको संयुक्त आयोजनामा बुधबार यहाँ आयोजित बहुभाषिक कवितागोष्ठीमा विभिन्न भाषाका १७ कविले कविता वाचन गरेका छन् ।
कविता वाचन गर्नेमा स्वप्निल स्मृति, केशव सिलवाल, होमराज ढुंगेल, चन्द्र राना हँछा, रीमा केसी, जानुका राई (नेपाली), सोझो गाउँले (खस नेपाली), देवकी तिमिल्सिना (खस व्याँसी भाषा), उदिम किराती (थुलुङ् राई भाषा), विष्णु नेम्वाङ (लिम्बू), साङ्तेन वान्तवा (वान्तवा) बीना थिङ (तामाङ), मनिषा राई (थुलुङ राई) लगायत थिए ।

कार्यक्रममा तिलक चाम्लिङले चाम्लिङ भाषाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै पूर्वी नेपालका उदयपुर, खोटाङ, भोजपुर आदि जिल्लमा बोलिने सो भाषा करीब दुई लाखले बोल्ने बताए । प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख श्रवण मुकारुङले कविता निरन्तर साधना गरिरहनुपर्ने विषय भएको र यो समयसापेक्ष हुनुपर्छ भने। प्रज्ञा–प्रतिष्ठान आख्यान विभाग प्रमुख मातृका पोखरेलले आफूहरुले साधन र स्रोतअनुसार मातृभाषाको विकासमा प्रयास जारी राखेको बताए ।

संगीतकार तथा प्राज्ञ शान्तिराम राईले भाषालाई व्यावसायिक बनाउन सके मात्र पछिसम्म बाँच्ने बताए । लोकगीत अनुसन्धाता डा. भक्त राईले भाषा संस्कृतिको जननी भएको बताउँदै यसलाई बोलेर, लेखेर तथा साहित्यको माध्यमबाट बचाउनुपर्छ भने । कवि नाकिमा नाकिनले भाषा सम्बन्धित जातिको प्रयासले नै बाँच्न सक्ने बताए

सहआयोजक माइक्रो रिसर्चका अध्यक्ष बम बानियाँले मातृभाषाको विकासका लागि सबैको प्रतिनिधित्व हुने गरी सफल कार्यक्रम गर्न पाएकामा खुशी व्यक्त गर्दै आगामी दिनमा कमजोरी सच्याएर अघि बढ्ने बताए ।