समाचार

अवैध सुनसहित भारतीय नागरिक पक्राउ

बैतडी । नेपाल–भारत सीमानाका झुलाघाटबाट एक भारतीय नागरिकसहित दुई जनालाई नगद र अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पिथौरागढ जिल्ला झुलाघाटका ४२ वर्षीय जगदीश बर्मा र बैतडीको दशरथचन्द नगरपालिका–४ का २१ वर्षीय विशाल गहतराज रहेका छन् । भारतीय नागरिक बर्माको साथबाट ६० ग्राम सुन र २४ हजार ३९० भारतीय रुपैयाँ र नेपाली नागरिक गहतराजबाट तीन लाख २७ हजार ९८५ र ११ ग्राम ६६४ मिग्रा सुन फेला पारिएको हो । शंकास्पद आधारमा मंगलबार अपराह्न सीमानाका झुलाघाटमा सुन किनबेच गरिरहेका बेला सीमा प्रहरी चौकीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

भारतीय व्यापारी बर्माबाट नेपाली व्यापारी गहतराजले सुन किनिरहेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कार्बाहीका लागि आज कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाइएको बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिए ।