राजनीति

अब गुटबन्दी अन्त्य गरेर कांग्रेसलाई आधुनिक बनाउनुपर्छ : सिटौला

दमक । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई आधुनिक बनाउनुपर्ने औँल्याएका छन् । झापाको बिर्तामोडस्थित कांग्रेस जिल्ला पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले हिजोको कांग्रेसलाई अब समयअनुसार रुपान्तरण गरेर आधुनिकीकरण गर्नुपर्ने खाँचो रहेको बताए ।

पार्टीका पूर्व महामन्त्री समेत रहेका नेता सिटौलाले कांग्रेसलाई तलैदेखि बलियो बनाउन पार्टी नेतृत्व गम्भीर हुनुपर्ने टिप्पणी गरे। फूलमाला लगाएर तस्विर खिचाउँदैमा कांग्रेस एकता नहुने भन्दै उनले कांग्रेसभित्रको एकता अरुलाई देखाउनभन्दा पार्टी बलियो बनाउनतर्फ लाग्नुपर्छ भने ।

दुई तिहाइको बलमा सरकार निरकुंश बन्दै गएको भन्दै उनले काँग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्नुपर्ने अवस्था आएको पनि बताए ।