स्वास्थ्य

जुम्लाबाट गोविन्द केसीले मुख खोल्दैँ सरकारलाई यसो भने

काठमाडौं । झन्डैँ दुइ सातादेखि आमरण अनसनरत डा. गोविन्द केसी सरकारसँग वार्ताका लागि तयार भएका छन् । बुधबार एक विज्ञप्ती जारी गर्दै केसीले आफू सरकारसँग तयार रहेको बताएका हुन् ।

चिकित्सा शिक्षा सुधारको मागसहित अनसनरत केसीले सरकारको भनाईको खण्डन गरेका छन् । उनले सरकारले आफू तयार नभएको गैरजिम्मेवारीपूर्ण अभिव्यक्ती दिएको बताए । उनले आफू वार्ताका लागि सधैँ तयार रहेको बरु सरकारले यसबारे गृहकार्य सुरु गर्न भनेका छन्।

‘यतिका दिनसम्म संवेदनहीन र गैरजिम्मेवारीपूर्ण रुपमा माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरुले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, केसीले विज्ञप्तीमा भनेका छन्, ‘हामी कुनै पनि बेला वार्ताका लागि तयार छौं ।’

केसीले विज्ञप्तीमार्फत यदि सरकार वार्ताका लागि तयार हो भने वार्ता टोली पठाउन भनेका छन् ।