सुदूरपश्चिम

बाढीले पुल बगाएपछि परीक्षा स्थगित

दार्चुला । गएराति अबिरल वर्षाका कारण नौगाड खोलामा आएको बाढीले पुल बगाएको छ । नौगाड गाउँपालिका–६ स्थित नौगाड खोलामा आएको बाढीले पुल बगाएपछि जनहित माविमा सञ्चालन भइरहेको प्रथम चौमासिक परीक्षा स्थिगित गरिएको छ । विद्यालय जान खोलामा निर्माण गरिएको काठे पुल बाढीले बगाएपछि परीक्षा स्थिगित गरिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रेमसिँह ठगुन्नाले जानकारी दिए ।

बाढीले पुल बगाउँदा विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् । सर्वसाधारण एउटा गाउँबाट अर्को गाउँमा आवतजावत गर्न सकिरहेका छैनन् । “खोलामा एक्कासि पानीको बहाव बढ्यो, पुल बगाएपछि विद्यार्थी कोही आउन नसकेपछि परीक्षा स्थिगित गर्नु परेको हो,” सहायक प्रधानाध्यापक ठगुन्नाले भने ।

जनहित माविमा प्रथम चौमासिक परीक्षा दिइरहेका १५० विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । बाढीले जमीनसमेत कटान गरेको स्थानीयवासी बहादुरसिंह ठगुन्नाले बताए ।

यस्तै, सोही क्षेत्रको देथला–धुलिगडा सडकखण्डको ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडकको पर्खाल भत्किएको छ । तीन दिनदेखि जिल्लामा दिउँसो घाम लाग्ने तथा रातिको समयमा भारी वर्षा हुने गरेको छ ।