समाचार

राष्ट्रियसभा अध्यक्ष र जापानका राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि जापानका राजदूत मासाचिमी सिगोले शिष्टाचार भेटघाट गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा नेपाल र जापान बीचको कुटनीतिक सम्बन्ध सधै सुमधुर रहेको अध्यक्ष तिमिल्सिनाले बताए । उनले नेपाल लामो संक्रमणपछि शान्ति र विकासतर्फ अगाडि बढेकाले विगतमा जस्तै आगामी दिनमा पनि जापानको सहयोग निरन्तर हुने अपेक्षा व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले जापानले नेपालको पूर्वाधार निमार्ण, भूकम्पपछिको पुर्ननिर्माण, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा पु¥याएको सहयोगका लागि धन्यवाद व्यक्त गरे । ‘नेपालको भौतिक, आर्थिक, मानव संसाधन विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य, कृषिलगायतको विकासमा सहयोग निरन्तर हुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।

साथै उनले बुद्धको जन्मभूमी नेपालमा विशेषगरी जापानंका बुद्ध धर्मालम्बी धार्मिक पर्यटकको रुपमा आउने र नेपाली पनि अध्ययन, रोजगारी तथा व्यापारका लागि जापान जाने गरेकाले जनस्तरको सम्बन्ध मजबूद बनाउन सहयोग पुगेको बताए ।

यसैबीच राजदूत सिगो कुटनीतिज्ञ संगै एक कृषि विशेषज्ञ भएको जानकारीमा आएको बताउँदै उनले भने, ‘तपाईंको कृषि क्षेत्रको विशेषज्ञताले कृषिप्रधान देश नेपालले यसको आधुनिकिकरण तथा प्रविधि प्रयोगमा सकारात्मक प्रभाव ल्याउने अपेक्षा लिएको छु ।’

अध्यक्ष तिमिल्सिनाले विगतको संसदमा नेपाल जापान संसदीय मैत्री समूह गठन भएको र अब संघीय संसदको नेपाल जापान संसदीय मैत्री समूह गठन गर्ने जानकारी गराए ।

उनले राजदूत सिगोको कार्यकाल दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सफल हुने विश्वास व्यक्त गरे ।

भेटमा राजदूत सिगोले दुई देशको सम्बन्ध र सहकार्यलाई प्रभावकारी बनाउन जनता, सरकार र संसदसँग सम्बन्ध चाहेको बताए । उनले आफू कृषि क्षेत्रको व्यक्ति भएकाले जापानमा प्रयोग भएको कृषि प्रविधिले नेपालमा सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।