उर्जा

इलेप खोलाको विद्युत् खरिद सम्झौतामा हस्ताक्षर

काठमाडौँ । उत्तरी धादिङमा आयोजनास्थल रहेको इलेप तातोपानी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएको छ ।

प्राधिकरणले दिएको जानकारीअनुसार धादिङको रुवी भ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाट क्षमताको सो आयोजनाको सोमबार विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको हो ।

प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र आयोजनाका तर्फबाट प्रवद्र्धक जलशक्ति हाइड्रो कम्पनीका अध्यक्ष तिलक लामाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्राधिकरणले आयोजनाबाट उत्पादित विद्युत् सुख्खायाम (१६ मंसिर–१५ जेठसम्म) र वर्षायाम (१६ जेठ–१५ मंसिरसम्म) मा प्रतियुनिट क्रमश : ८.४० र ४.८० रुपैयाँमा खरिद गर्ने छ ।

आयोजनाले वार्षिक तीन प्रतिशतका दरले आठ पटकसम्म साधारण मूल्यवृद्धि पाउने छ । आयोजनाबाट वार्षिकरुपमा १४ करोड ४८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ ।

एक वर्षभित्रमा वित्तीय व्यवस्थापन गरी आयोजनाको निर्माण शुरु गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताए । उनले आयोजनाको निर्माण तीन वर्षभित्रमा सक्ने लक्ष्य राखिएको जानकारी दिए ।

सम्झौता अनुसार, आयोजनाले व्यापारिकरुपमा विद्युत् उत्पादन गर्नुपर्ने मिती सन् २०२४ डिसेम्बर तोकेको छ । निर्माण अवधिको ब्याजसहित आयोजनाको कूल अनुमानित लागत रु चार अर्ब ४७ करोड २९ लाख रहेको छ । हाल आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बनाउने लगायतका निर्माणपूर्वका काम भइरहेको कम्पनीका अध्यक्ष लामाको भनाइ छ ।

उत्पादित विद्युत् ३२ किलोमिटर लामो प्रसारण लाइन आयोजनाले नै निर्माण गरी नुवाकोटस्थित त्रिशूली ३ बी हव सवस्टेसनमा जोडिने कम्पनीले जनाएको छ ।