उर्जा

विद्युत् सेवा नियमित नहुँदा सेवाग्रही मारमा

वीरगञ्ज । विद्युत् सेवा नियमित नहुँदा यहाँका सेवाग्रही मारमा परेका छन् । प्रत्येक पाँचदेखि १० मिनेटमा विद्युत् जाने गरेको र भोल्टेज घटबढ हुनेगरेका कारण कम्प्युटर, ल्यापटप, बल्ब जस्ता उपकरणमा असरपर्ने गरेको तथा कतिपयको इन्र्भटरसमेत चार्ज हुन नसकेकाले यसको प्रत्यक्ष असर सञ्चारकर्मीलाई पर्न गएको छ ।

एउटा समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई घण्टौ लाग्ने गरेको, समयमा पत्रपत्रिका प्रकाशन गर्न समस्या हुने गरेको गुनासो गर्दै नेपाल पत्रकार महासंघ प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानले छिनछिनमा विद्युत् जानुको कारण कम्प्युटर लगायतका उपकरण बिग्रिनु, इन्र्भटर चार्ज नहुनु जस्ता समस्या रहेको बताए ।

उनले जिम्मेवार निकाय गैरजिम्मेवार भएपछि यसको प्रत्यक्ष असर आम सेवाग्रहीलाई मात्र नभएर सबै भन्दा बढी सञ्चार क्षेत्र प्रभावित भएको बताए ।

यस समबन्धमा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख मनिन्द्र ठाकुरले सेवाको गुणस्तरीयता कायम राख्न हामी प्रयत्नशील छौं भने ।
यो समस्या कहिलेसम्म समाधान हुनेबारे उनले ठोस् जवाफ दिन सक्नुभएन ।

पुरानो ट्रान्सफर, पुरानो तथा खिया लागेका तारका कारण यस्तो स्थीति आएको केन्द्रका एक कर्मचारीले बताए । विद्युत् समस्या खेपिरहेका सेवाग्रही तथा सञ्चार माध्यमका प्रतिनिधिले यो समस्या चाँडो भन्दा चाँडो समाधान गर्ने तर्फ सम्बन्धित् निकाय गम्भीर हुनुपर्ने माग गर्दै आएका छन् ।