प्रवास

बेलायतमा ‘काव्ययात्रा’

काठमाडौँ । समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनामा बकिंघम शायरको कुम्ब हिलमा शनिबार काव्ययात्रा सम्पन्न भएको छ । प्राकृतिक र ऐतिहासिक महत्वको कुम्ब हिल नेपाली कविताका स्वरले गुन्जिएको थियो ।

काव्ययात्रामा डा सुनिल महर्जन, अभियान घिमिरे, मञ्जु न्यौपाने, सञ्जु बजगाईं, विभाष सापकोटा, मीना महर्जन, राजेश्वरी घिमिरे, सुयश बजगाईं, मुकेश श्रेष्ठ, विजय सापकोटालगायतले कविता वाचन गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईंले बेलायतका विभिन्न शहरमा आयोजना गरिने काव्ययात्राका क्रममा वाचित कवितालाई सङ्ग्रहको रुप दिइने जानकारी दिए । कवि अजिता सिंखडाले काव्य यात्राबाट आफू उत्साहित भएको र यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

साहित्य प्रतिष्ठानले बाह्र वर्षदेखि नेपाली साहित्यको वेबसाइट ‘समकालीन साहित्य डट कम’ सञ्चालन गर्नाका साथै नियमित रुपमा नेपाली भाषाको अनुसन्धानमूलक पत्रिका ‘प्रवासन’ र विभिन्न साहित्यिक पुस्तक प्रकाशन गर्दै आएको साहित्यकार विजय सापकोटाले जानकारी दिए ।