राजनीति

वर्तमान सरकार कानूनी राज्यको पक्षमाः मन्त्री तामाङ

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले वर्तमान सरकार संविधानको सर्वोच्चता तथा कानूनी राज्यको पक्षमा प्रतिबद्ध रहेको बताएका छन् ।

रिपोर्टस क्लबमा आज आयोजित साक्षात्कारमा उनले संघीयता कार्यान्वयनका लागि आवश्यक ११० कानूनमध्ये ७३ कानून संसदबाट पारित भइसकेको जानकारी दिए। अब २५/३० वटा कानून मात्र पारित हुन बाँकी रहेको र ती कानूनको मस्यौदा छिट्टै संसद्मा दर्ता गरी असोज ३ भित्र पारित गरीसक्ने उनले बताए ।

सबै कानून समयसीमा भित्रै तयार गर्ने सरकारको प्रतिबद्धता रहेको चर्चा गर्दै मन्त्री तामाङले त्यसपछि आवश्यक अन्य कानूनहरु संशोधनका लागि मस्यौदा बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित हुने बताए ।

उनले बीमासम्बन्धी विधेयक र प्रशासकीय अदालतसम्बन्धी विधेयक संसद्मा दर्ता भइसकेको तथा सार्वजनिक खरिद ऐन संशोधनको प्रक्रियामा रहेको बताए । मन्त्री तामाङले संसदको सुनवाई समिति गठन हुन नसकेको कारण संवैधानिक निकायको पदाधिकारीको नियुक्ति हुन नसकिरहेको बताए ।