बाग्मती

स्थानीयवासीले बनाए प्रहरी भवन

काठमाडौँ । स्थानीयवासीको रु २२ लाखको सहयोगमा कोटेश्वरस्थित महानगरीय प्रहरी प्रभाग नरेफाँटको पाँचकोठे भवन निर्माण भएको छ ।

आज यहाँ आयोजित भवन उद्घाटन तथा हस्तान्तरण समारोहमा गृहसचिव प्रेमकुमार राईले प्रहरी भवन निर्माणको दायित्व सरकारको भए पनि स्थानीयवासीले लगानी गरेर राम्रो काम गरेको बताउँदै “जनता र प्रहरीबीचको सम्बन्धलाई यो कामले ठूलो सहयोग पुगेको छ,” भने ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय क्षेत्रको शान्ति सुरक्षाका लागि स्थानीय जनताको लागतमा प्रहरी भवन निर्माण हुनु राम्रो कामको थालनी भएको उल्लेख गर्दै “तपाईं हाम्रो सुरक्षाका लागि प्रहरी भवन निर्माण गरिएको हो, प्रहरीलाई सबैले सहयोग गरौँ,” बताए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी भवन निर्माण गरेर जनताले सराहनीय काम गरेको बताउँदै “तपाईंहरुले आफ्नो क्षेत्रको शान्ति सुरक्षाका लागि भवन निर्माण गरेर राम्रो काम गर्नुभएको छ, यो भवनमा चाहिने आवश्यक सामग्री प्रहरी प्रधान कार्यालयले पनि सहयोग गर्नेछ,” भने ।

उक्त भवनको साँचो भवन निर्माण समितिका अध्यक्ष सार्कीमान लामाले प्रहरी महानिरीक्षक खनाललाई प्रदान गरेका थिए ।

सो अवसरमा भवन निर्माणका क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई सम्मान पनि गरिएको थियो ।