समाचार

सूचना प्रविधि सेवा गुणस्तरीय हुनुपर्छः मन्त्री बाँस्कोटा

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नयाँ सरकारले नयाँ लक्ष्यका साथ कार्य अगाडि बढाएको बताएका छन् ।

विराटनगरस्थित नेपाल टेलिकम कार्यालयको निरीक्षणपछि आयोजित समारोहमा उनले भने, “एक्काइसौं शताब्दी सूचना प्रविधिको शताब्दी भएकाले यो सेवा गुणस्तरीय र प्रभावकारी हुनुपर्छ ।”

मन्त्री बाँस्कोटाले सेवाग्राहीको विश्वास जितेपछि संस्थाप्रतिको विश्वसनियता बढ्छ, विश्वसनियता बढेपछि राजश्वमा वृद्धि हुन्छ र यसले टेलिकम पनि बलियो हुन्छ भन्दै समयसापेक्ष प्रतिस्पर्धी योजना ल्याउन नेपाल टेलिकमलाई निर्देशन दिए ।

उनले संस्थाको हित, विकास र समृद्धिका लागि कार्य गर्न पनि कर्मचारी संघ संगठनलाई आग्रह गरे ।

सो अवसरमा नेपाली टेलिकमका क्षेत्रीय निर्देशक अमरनाथ झाले नेपाल टेलिकमबाट पूर्वाञ्चल क्षेत्रमा सञ्चालित वभिन्न सेवाका वारेमा मन्त्री बाँस्कोटालाई जानकारी गराए ।

यसअघि, मन्त्री बाँस्कोटाले विराटनगरस्थित नेपाल टेलिकम कार्यालयको स्थलगत निरीक्षण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिए ।