समाचार

गोविन्द केसी अनसनस्थलबाटै प्रहरी फन्दामा, थाले प्रहरी कार्यालयमै अनसन

काठमाडौं । अनसन बस्न जुम्ला पुगेका प्राध्यापक डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । स्थानिय प्रशासनले निषेधित गरेको ठाउँमा अनसन बस्न खोजेपछि डा. केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सरकारले शुक्रबार मात्रै केही ठाउँमा प्रदर्शनका लागि निषेध गरेको थियो । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा अनसन बस्न शुक्रबार यहाँ पुगेका केसीलाइ अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

चिकित्सा शिक्षा पुर्नस्थापन विधेयक पास, प्रतिष्ठान सुधार गर्नुपर्ने लगायत माग राखेर अनसन बस्न भन्दै केसी जुम्ला पुगेका थिए ।

यसैबीच, प्रहरी नियन्त्रणमा रहेका डा. केसीले जिल्ला प्रहरी कार्यालयभित्रै अनसन सुरु गरेका छन् । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको दशक बित्नै लाग्दा पनि स्तरोन्नती हुन नसकेकोमा दुःख व्यक्त गरे । केसीले आफ्नो अभियान केवल सुशासनका लागि भएको बताए ।

केही दिन अघि केसीले माईतीघर मण्डला लगायत प्रदर्शन क्षेत्र निषेध गरेको भन्दै सरकारको कडा शब्दमा आलोचना गरेका थिए ।