साहित्य

पूर्वीय दर्शनका दुई पुस्तक सार्वजनिक

 

काठमाडौँ । पूर्वीय दर्शनका ज्ञान लोपोन्मुख भइरहेका बेला दुई कृति सार्वजनिक भएको छ ।

जयतु संस्कृतम्ले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले तत्वार्थ सूत्रम् र दर्शनसार अमृतम् नामका दुई पुस्तक सार्वजनिक गरे ।

कार्यक्रममा गत वर्षको जयतु संस्कृतम् पुरस्कार संस्कृत साहित्यमा महत्वपूर्ण योगदान पु¥याउनु हुने प्रा डा. विष्णुराज आत्रेयलाई हनुमदयन नामक कृतिका लागि रु ११ हजार १११ राशिको पुरस्कार प्रदान गरिएको जानकारी गराइयो ।

सो अवसरमा कुलपति उप्रेती, जयतु संस्कृतम्का अध्यक्ष डा बद्री पोखरेल, पूर्वसचिव कृष्ण ज्ञवाली, प्रा डा पद्मप्रसाद भट्टराई, डा विष्णुप्रसाद देवकोटालगायतले संस्कृत भाषाको महत्व र आवश्यकता अझै बढेकाले संरक्षण गरिनुपर्नेमा जोड दिए ।

विसं २००४ मा राणाशासनको विरोधमा पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा, राजेश्वर देवकोटा, कमलराज रेग्मीलगायतको नेतृत्वमा सञ्चालित जयतु संस्कृतम् आन्दोलन नेपालको शैक्षिक एवम् राजनीतिक इतिहासमा महत्वपूर्ण घटनाका रुपमा मानिन्छ ।

तीनधारा पाठशालामा अध्ययनरत विद्यार्थीले संस्कृतका साथै आधुनिक विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणाशासनको जगजगीका बेला यो आन्दोलनको शुरुवात गरेका थिए । यो नेपालकै पहिलो विद्यार्थी आन्दोलन हो । आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने मागसँगै प्रजातन्त्रको माग पनि जयतु संस्कृतम्ले गरेको थियो ।