कृषि

सिरहामा पाँच प्रतिशतमात्र धान रोपाइँ

लहान । सिरहामा अहिलेसम्म पाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ । लामो समयदेखि वर्षा नभएपछि असार १५ सम्ममा ९५ प्रतिशत जग्गामा अझै धान रोपाइँ हुन सकेको छैन । लामो समयदेखि वर्षा रोकिएको तथा सिँचाइको सुविधासमेत नभएका कारण असार १५ सम्ममा करीब पाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ हुन सकेको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ ।

यसवर्ष ढिलो गरी धानको बेर्ना तयार भएको र समयमा वर्षा पनि नभएकाले अत्यन्तै कम जग्गामा धान रोपाइँ हुन सकेको जिल्ला कृषि विकास कार्यालय सिरहाका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिए ।

असारको १५ गतेसम्ममा धान रोपाइँ सकेर किसान आराम गर्नुपर्नेमा अहिलेसम्म पाँच प्रतिशतमात्र धान रोपाइँ भएको उनले बताए ।

वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन् भन्ने अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा छन् ।

यस्तै कृषि मजदूरको अभावमा पनि वर्षेनी धानखेती प्रभावित हुँदै आएका छन् । एकातिर सिँचाइको अभाव अर्कोतिर आवश्यकताअनुसार कृषि मजदूर नपाइने गरेकाले धान रोपाइँमा समस्या हुने गरेको किसानको गुनासो छ । सिरहामा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।

सिरहामा कूल ७३ हजार ९१३ हेक्टर कृषियोग्य जग्गामध्ये ६० हजार ७५७ हेक्टरमा धानखेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ ।