अन्तर्राष्ट्रिय

अमेरिकाको एक दैनिक पत्रिकामा गोली चल्यो, चार पत्रकारसहित पाँचको मृत्यु, केही घाइते

मेरिल्याण्ड । अमेरिकाको म्यारिल्याण्ड राज्यमा रहेको एउटा दैनिक पत्रिकाको कार्यालयमा शुक्रबार बिहान भएको गोली प्रहारमा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ ।

अरु केही घाइते भएका छन् । मेरिल्याण्डको प्रहरीले एउटा दैनिक पत्रिकाको कार्यालयमा भएको बन्दुक आक्रमणमा ती मानिस मारिएको जनाएको छ ।

मेरिल्याण्डको आनापोलिस भन्ने नगरमा रहेको क्यापिटल गजेट दैनिक पत्रिकामा सो आक्रमण भएको थियो । संदिग्ध हमलाकारीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ ।

हमलामा एकजना करिब ३० वर्षकोजस्तो देखिने श्वेत पुरुषको संलग्नता रहेको प्रारम्भिक अनुमान प्रहरीको छ । नियन्त्रणमा रहेको सो पुरुषले प्रहरीलाई सोधपुछको क्रममा असहयोग गरेको र आफ्नो पहिचान पनि नदिएको एक समाचारमा बताइएको छ ।

सो पत्रिकाको कार्यालयमा भएको आक्रमण पहिलेदेखि नै योजना बनाएको एक नियोजित कार्य हो भनिएको छ । क्यापिटल गजेट पत्रिकाका एकजना सम्वाददाताले आक्रमणकारीले लुकेर शिशाको ढोकाबाट गोली चलाएको भनेका छन् ।

उक्त पत्रिकाका अरु प्रत्यक्षदर्शी कर्मचारीहरुले गोली वर्षाएपछि कार्यालय भित्र आतङ्क मच्चिएको बताएका छन् । उनीहरुले बन्धुकधारीले शिशाको ढोकाको बाहिरबाट समाचार कक्षमा ताकेरै गोली चलाएको जानकारी दिएका छन् ।

उक्त नगरका प्रहरी प्रमुख बिल क्रम्फले जनाएअनुसार पत्रिकाको कार्यालयमा नियोजित रुपमा यस्तो गोली काण्ड गराइएको बताएका छन् ।

उनले भनेका छन्–यसमा संलग्नताको आशङ्कामा एकजनालाई नियन्त्रणमा लिइएको छ र अनुसन्धान सुरु भएको छ ।

मारिनेमा चार जना पत्रकार र एकजना बजार शाखाका सहायक स्तरका कर्मचारी रहेका पनि प्रहरी प्रमुख क्रम्फले जानकारी दिए ।

उनले त्यहाँ रहेका अधिकांश कर्मचारीहरुलाई भने सकुशल उद्वार गरेर बाहिर निकालिएको बताएका छन् । ती गोली हान्ने व्यक्तिको पहिचान खुलाउन र के कति कारणले गोली हानेको हो भन्ने बारेमा पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको पनि बताएका छन् ।

केही सञ्चारमाध्यमले सो घटना उक्त पत्रिकाको आन्तरिक विवादका कारण उत्पन्न भएको अनुमान गरेका छन् भने अरु केहीले भने यसलाई आतङ्ककारी क्रियाकलाप पनि हुनसक्ने भनेका छन् ।

क्यापिटल गजेट भवनभित्र रहेका कर्मचारीहरूले भने उक्त पत्रिकामा हिंसात्मक आक्रमण गर्ने धम्की समाजिक सञ्जालमार्फत केही समयअघि आएको थियो भनेका छन् । तर कसले र किन यो धम्की दिएको हो भन्ने बारेमा भने उनीहरुले केही बताएका छैनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सञ्चार संयोजक सेराह सेन्डर्सले हत्याको निन्दा गरेका छन् । उनले निर्दोष पत्रकारहरूविरुद्धको आक्रमणले सिंगो अमेरिकालाई नै स्तब्ध बनाएको प्रतिक्रिया दिएका छन् ।

उनले यस आक्रमणमा संलग्नलाई आवश्यक कारबाही गर्नुपर्ने पनि बताएका छन् । त्यसमा संलग्न भनिएको व्यक्ति म्येरिल्याण्ड निवासी र करिब ३० वर्षको भएको अनुमान गरिएको छ ।

तर यस बारेमा प्रहरीले केही बताएको छैन । उसले आक्रमणकारी प्रहरी नियन्त्रणमा रहेको र उसमाथि अनुसन्धान थालिएको मात्र बताएको छ ।