पर्यटन/संस्कृति

रथ जुधाउँदै सकियो पनौती जात्रा

बनेपा । काभ्रेपलाञ्चोकको पनौतीमा देवीदेवताको प्रतीकस्वरुप बनाइएको रथ जुधाएर ऐतिहासिक पनौती जात्रा विहीबार सम्पन्न भएको छ ।

प्रत्येक वर्ष जेठ पूर्णिमाको दिन पनौती जात्रा मूल व्यवस्थापन समितिको आयोजनामा एक साता अगाडिदेखि शुरु भएको जात्रामा यौनिकता झल्काउने गरी उन्मत्त भैरव, भद्रकाली र इन्द्रेश्वर महादेवबीच रथ जुधाएर सम्भोग गराइन्छ । ज्या पुन्ही जात्राको नाममा परिचित सो जात्रामा पनौतीको लाम्पाटीमा रहेको भैरवको रथलाई तानेर ल्याई पुलिसपाटी नजिकै रहेको भद्रकालीको रथसँग जुधाइन्छ । रथ जुधाउने बेलामा दुवै रथमा सवार रहेका मानिसहरू एकापसमा अबिर छर्केर हर्ष व्यक्त गर्छन् । सो कार्य सकिएपछि भैरवको रथलाई फर्काएर नवदुर्गा डबलीभन्दा केही पर राखिन्छ ।

किंवदन्तीअनुसार उन्मत्त भैरवको रथ गन्तव्यस्थानमा पुगेपछि भद्रकालीको रथ तानेर ल्याई भैरवको रथसँग पछाडिबाट जुधाएर जात्रा मनाउने गरेको पनौती जात्रा मूल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कर्माचार्यले बताए । एवं प्रकारले भैरव र भद्रकालीको रथ तीन–तीन पटक एकापसमा जुधाइसकेपछि इन्द्रेश्वर महादेवको रथ भद्रकालीको रथसँग अगाडिबाट तीन पटक जुधाइने उनले बताए ।

ज्यहा पुन्हीपछि पनौतीमा यो वर्षको जात्रा सकिन्छ । मन्दिरै मन्दिरको शहरका रुपमा चिनिएको पनौतीमा वर्षमा देवीदेवताको नाममा ५३ वटा जात्रा हुने र त्यसको सम्पूर्ण व्यवस्थापन एउटै समिति पनौती जात्रा मूल व्यवस्थापन समितिले गर्ने प्रचलन छ । त्यसका लागि नगरपालिकाले वार्षिक रुपमा बजेटको समेत व्यवस्था गर्दै आएको छ ।

वर्षको अन्तिम जात्रा भएकाले आफन्त र इष्टमित्र अनिवार्य पुग्ने गर्छन । छिमेकी सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौँ, भक्तपुर, ललितपुरदेखिका मानिसहरु जात्रा हेर्न आउने गरेको जात्रा व्यवस्थापन समितिले जनाएको छ ।