उर्जा

दुई सय किलोवाट विद्युत् उत्पादन हुँदै

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा दुई सय किलोवाट विद्युत् उत्पादन हुँदैछ । त्रिवेणी गाउँपालिका–२, सिम्रुतुमा झण्डै रु आठ करोडको लगानीमा विद्युत् उत्पादन गर्न लागिएको हो ।

‘रुकुम उज्यालो कार्यक्रम’ अन्तर्गत सिम्रुतुखोला जलविद्युत् सहकारी संस्थाले विद्युत् उत्पादन गर्न लागेको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु पाँच करोड, स्थानीयवासीको रु दुई करोड र सिभिल बैंकको रु एक करोड ऋणमा विद्युत् उत्पादन गर्न लागिएको हो ।

अहिलेसम्म आयोजना निर्माणको काम करीब ६० प्रतिशत सम्पन्न भएको छ । नहर निर्माणको काम ९० प्रतिशत सकिएको सहकारीका अध्यक्ष लक्ष्मण ओलीले जानकारी दिए । आयोजना निर्माणको प्राविधिक जिम्मा गौरा कन्सट्रक्सन र हाइड्रो इनर्जीले लिएका छन् । डेढ वर्षमा काम सम्पन्न गर्ने गरी २०७३ साल माघमा सम्झौता भएको थियो ।

असार मसान्तसम्म काम सक्नुपर्नेछ । विद्युत् उत्पादनका लागि यहाँका एक हजार ७६ घरधुरीले प्रतिपरिवार रु १५ हजारदेखि रु ३० हजारसम्म रकम उठाएका थिए । आयोजना निर्माण भए दुई हजार २०० घरधुरी लाभान्वित हुनेछन् । त्रिवेणी गाउँपालिका–१, २, ५, ६ र ७ तथा मुसिकोट नगरपालिका–११ र १२ का नागरिक लाभान्वित हुनेछन् ।