कृषि

कृषकलाई यान्त्रिक हलो

फलेवास, पर्वत । कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले महाशिला गाउँपालिकाले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ । थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्न झन्झट नहुने र कम लागतमा खेती गर्न लगाउन पाइने भएकाले कृषकको मागअनुसार गाउँपालिकाले यान्त्रिक हलो वितरण गरेको हो ।

गाउँपालिकाका ६ वटै वडाका कृषक समूहलाई मागका आधारमा यान्त्रिक हलो वितरण गरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए । पहिलो चरणमा एउटा समूहलाई एउटा यान्त्रिक हलो वितरण गरिएको छ ।

“आगामी आर्थिक वर्षमा मागअनुसार यान्त्रिक हलो वितरण गरिनेछ,” उनले भने । कूल रु ५४ हजार मूल्य पर्ने यान्त्रिक हलो गाउँपालिकाले ६० प्रतिशत अनुदानमा वितरण गरेको हो ।

जलजला, मोदी कुश्मा, फलेवास, विहादी र पैँयुले समेत कृषकलाई यान्त्रिक हलो वितरण गरिसकेका छन् । यसअघि जिल्ला कृषि विकास कार्यालयले करीब ३०० वटा यान्त्रिक हलो वितरण गरेको थियो । डिजेल वा पेट्रोलबाट चल्ने तथा कम जनशक्ति भए पनि पुग्ने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए ।

मदिरा व्यावसायी करको दायरामा

जिल्लाका सबै मदिरा व्यवसायीलाई करको दायरामा ल्याइने भएको छ । बिनाअनुमति मदिरा तथा सुर्तीजन्य वस्तुको बिक्री वितरण गर्दै आएको पाइएपछि कोष तथा लेखा नियन्त्रक कार्यालयले बजार अनुगमन गरी सबैलाई करको दायरमा ल्याउन निर्देशन दिएको छ ।

आगामी आव २०७५/७६ भित्र सबै मदिारा व्यवसायीलाई करको दायरमा ल्याइने कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक भरत भुजेलले बताए । जिल्लामा दुई हजारभन्दा बढी मदिरा व्यवसायी छन् ।