पर्यटन/संस्कृति

ह्यात्रुङ झरना पर्यटकीय गन्तव्य बन्दै

आठराई, तेह्रथुम । फेदाप गाउँपालिकास्थित ह्यात्रुङ झरना पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । वर्षायामसँगै पानीको बहाव बढेपछि झरना अवलोकन गर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ ।

फेदाप गाउँपालिकाको सम्दु र इसिबुको बीचभागमा रहेको ३६५ मिटर अग्लो सो झरनासँगै रमाउनेको संख्या दिन प्रतिदिन बढ्दैगएको छ । झरना हेर्न विभिन्न जिल्लाबाट दैनिकरुपमा आन्तरिक पर्यटक आउने क्रम बढेको यात्रुङ झरना एकता समाजका अध्यक्ष राम तिम्सीना बताउँछन् ।

“समयमै वर्षात् भएपछि झरनामा पानीको मात्रा बढेकाले पर्यटक आकर्षित भएका छन्,” उनले भने । झरना हिउँदयाममा सुक्खा रहे पनि वर्षात्को समयमा अत्यन्तै आकर्षक र मनमोहक देखिन्छ ।

फुर्सदको समय तथा बिदाको दिनमा झरना हेर्न दैनिक ५०० भन्दा बढी पर्यटक आउने गरेका तिम्सिनाले बताए । जिल्लाकै आर्थिक समृद्धिका लागि ठूलो सम्भावना बोकेको ह्यात्रुङ झरना, विकास, संरक्षण, संवद्र्धन र प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ ।

सुक्खा याममा पानी नहुँदा झरनाको अस्तित्व संकटमा पर्ने भएकाले झरनामा बाह्रै महिना पानी झार्नका लागि आर्थिक वर्ष २०७४/७५ मा रु ३० लाख बजेट विनियोजन गरिएको फेदाप गाउँपालिकाका अध्यक्ष हरि चोङ्वाङले बताए । झरनासम्म पानीको व्यवस्थापनका लागि अहिले पाइपलाइन विस्तारको काम भइरहेको छ ।

प्राकृतिक झरनाले पर्यटकलाई आकर्षण गरे पनि झरना वरिपरि पर्यटकीय पूर्वाधार र संरचना निर्माण तथा पर्याप्त प्रवद्र्धनमा सम्बन्धित निकायले चासो दिएको छैन । झरना अवलोकन गर्न पुगेका संक्रान्तिबजारका टाँसी लामा झरनासम्म पुग्न मोटरबाटो खनिएपनि वर्षात्को समयमा सडक हिलाम्मे हुँदा आठराई र फेदापदेखि पदैल यात्रा गर्नुपरेको बताउँछन् ।

जिल्लाका पर्यटकीय गन्तव्यमध्ये झरना धेरैको रोजाइमा पर्छ । झरनामा पुगेर पर्यटक आनन्द लिने गर्छन् । उक्त झरनाको पूर्वाधार विकास, प्रचार र प्रवद्र्धन गर्न सके थप पर्यटक भित्र्याउन सकिने स्थानीयवासी बताउँछन् ।

सदरमुकाम म्याङ्लुङ र आठराई संक्रान्तिबजार प्रवेश गर्ने जो कोहीलाई पनि उक्त झरनाले आकर्षित गर्न थालेको छ । झरनामा तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, झापालगायत जिल्लाबाट मनोरञ्जनका लागि आन्तरिक पर्यटक आउने गर्छन् ।