गण्डकी प्रदेश

दुई खानेपानी आयोजना बाढीले बगायो

म्याग्दी । स्थानीय मालिका गाउँपालिका–४ ओखरबोटमा अविरल वर्षासँगै गएराति आएको बाढी र पहिरोले दुईवटा खानेपानी आयोजना बगाएको छ । वास परियोजनाअन्तर्गत गत वर्ष निर्माण गरिएको लोसरिबाङ खानेपानी आयोजना र महभिर खानेपानी आयोजनाको मुहानको ट्याङ्कीसहित पाइपसमेत बगाएपछि खानेपानीको समस्या भएको वडाध्यक्ष दिलीप शेरचनले बताए ।

उनका अनुसार खानेपानी आयोजना अवरुद्ध भएपछि कालोपरामा रहेको लोसरिबाङ खानेपानी आयोजनाका १८ घरधुरी र महभिर आयोजनाका ६० घरधुरी शुद्ध खानेपानी उपभोगबाट वञ्चित भएका छन् ।

दुबै आयोजनाका खानेपानी अवरुद्ध हुँदा ओखरबोटका लोसरीबाङ, सेरागाउँ, महभिरलगायत बस्तीका बासिन्दा समस्यामा परेका छन् । वर्षासँगै आएको बाढीले महभिरका टेकलाल विकको एकतले घरसमेत पूर्णरुपमा क्षति पु¥याएको वडाध्यक्ष शेरचनले बताए । बाढी र पहिरोले ठाउँठाउँमा पहिरो खसेर सडकसमेत अवरुद्ध बनाएपछि स्थानीयवासीलाई आवतजावत गर्नसमेत समस्या भएको छ ।