गण्डकी प्रदेश

१९ नाउर र १० झारल शिकार

बागलुङ । ढोरपाटन शिकार आरक्षमा चालू आवभित्र १९ नाउर र १० झारलको शिकार भएको छ । लाखौँ खर्चेर विदेशी शिकारी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पुगी शिकार खेलेका थिए ।

शिकारबाट रु ४६ लाख १६ हजार राजश्व उठेको आरक्ष कार्यालयले जनाएको छ । पहिलो शिकार याम असोज–मंसिरमा नौ नाउर र चार झारलको शिकार भएको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

उनका अनुसार दोस्रो शिकार याम फागुन–वैशाखमा १० नाउर र ६ झारलको शिकार गरिएको थियो । आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी ६ ‘ब्लक’मा शिकार खेलाउने गरिएको छ । शिकार कम्पनी नेपाल वाइल्ड लाइफ सफारिज, हिमालयन सफारिज, ग्लोबल सफारिज र ट्र्याक एण्ड टे«ल्र्स प्रालिमार्फत शिकारी ढोरपाटन पुगेका थिए । शिकारीले रोजेको ‘ब्लक’मा लगेर कम्पनीले शिकार खेलाउने गरेका छन् ।

बन्दुक, गोलीगट्ठा र सहयोगीसहित शिकारी आरक्ष आउने गरेको अधिकृत बरालले बताए । खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’मा शिकार खेल्न रुचाउने गरेको उनको भनाइ छ । विदेशी शिकारीसहितको टोलीले १५ दिन शिकारमा बिताउने गरेको छ । शिकार खेल्न अमेरिका, रुस, स्पेन, साउथ अमेरिका, नर्वेजस्ता देशबाट पेशेवर शिकारी वर्षेनी ढोरपाटन आउने गर्छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजश्व दर निर्धारण गर्ने गरेको छ । यो वर्ष २० नाउर र ११ झारलको कोटा भए पनि १० नाउर र १९ झारलको मात्र शिकार भएको हो ।

शिकारको माग बढी हुँदा राजश्वको दर पनि बढ्ने र माग घट्दा राजश्व पनि घट्ने गरेको छ । प्रतिष्पर्धामा बढी बोलकबोल गर्ने कम्पनीले शिकार गराउने अनुमति पाउने गरेको छ । यो वर्ष प्रतिष्पर्धा कम हुँदा शिकारको राजश्व दर पनि घटेको आरक्ष कार्यालयले जनाएको छ ।

नाउर शिकारको अधिकतम दर रु एक लाख १५ हजार र झारलको रु दुई लाख २१ हजार कायम भएको थियो । शिकार कम्पनीले केही वर्षअघि एउटा झारल शिकारको रु १३ लाख पाँच हजारसम्म बुझाएका थिए । शिकारको दर बढ्दा वार्षिक करोडभन्दा बढी राजश्व उठ्ने गरेको छ । वर्षेनी असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा शिकार खुल्ला गर्ने गरिन्छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।