काठमाडौं । रुस विश्वकपमा नाइजेरियालाई २-१ गोल अन्तरले हराउँदै आर्जेन्टिना प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ।
उक्त हारसँग सुपर इग्लस पनि भनिने नाइजेरिया विश्वकपबाट बाहिरिएको छ।
अन्तिम समयमा मार्कोस रोजोले गोल गर्दै नाटकीय रुपमा आर्जेन्टिनालाई जित दिलाए र शीर्ष १६ मा आफ्नो टोलीको स्थान सुनिश्चित गरे।
म्यान्चेस्टर युनाइटेडका रक्षापङ्क्तिका खेलाडी रोजोले गाब्रिएल मर्सेडोले दिएको बल तलबाट कुनामा च्यापेर गोल गर्नुअघि आर्जेन्टिना विश्वकपबाट बाहिरिने सँघारमा थियो।
अग्रता
यसअघि लियोनेल मेस्सीले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
रोजोको काँधमा उफ्रिएर मेस्सीले खुशी मनाइरहँदा मैदानको छेउमा बसेको आर्जेन्टिनाको पूरा ुबेञ्चु पनि हर्षित देखिएको थियो।
दोस्रो हाफमा खराब खेल खेलेको आर्जेन्टिनाले यस्तो परिणाम हासिल नगर्ने हो कि भन्ने आशंकाहरू थिए।
माश्चेरानोले गरेको गल्तीमा नाइजेरियाका लागि पेनाल्टीमार्फत भिक्टर मोसेसले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए।
खेल समाप्त भएको सिठ्ठी बज्दा आर्जेन्टिनाका खेलाडीहरूले मैदानमा नै एकअर्कालाई अंकमाल गर्दै समर्थकहरूलाई हात हल्लाएका थिए र टिम एकताबद्ध रहको सन्देश दिन खोजेका थिए।
अब उनीहरूले शनिबार दोस्रो चरणको खेलमा समूह सीको विजेता फ्रान्ससँग खेल्नेछन्।
आर्जेन्टिना रहेको समूह डीको शीर्ष टोली क्रोएसियाले भने डेनमार्कको सामना गर्नेछ।
आइसल्याण्डलाई २(१ ले हराउँदै क्रोएसियाले शीर्ष स्थान हासिल गरेको हो।
फ्रान्स र डेनमार्कले मंगलवार गोलरहित बराबारी खेल्दै दोस्र चरणमा आफ्नो स्थान सुनिश्चित गरेका थिए।
अवसर
सन् २०२२ मा कतारमा हुने विश्वकपमा मेस्सी ३५ वर्षको पुग्ने भएकाले कतिपयले यसै विश्वकप उनको अन्तिम विश्वकप प्रतियोगिता हुने टिप्पणी गरिरहेका छन्।
नाइजेरियाविरुद्धको जितले लाजमर्दो ढङ्गबाट विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिनबाट आर्जेन्टिना जोगिएको छ।
क्रोएशियासँगको ३(० को पराजयअघि मैदानमा मलिन अनुहारमा देखिएका बार्सिलोनाका स्ट्राइकर मेस्सी नाइजेरियाविरुद्धको खेल शुरू हुनुअघि राष्ट्रगान बजिरहेका बेला मुस्कुराउन खोजिरहेका जस्ता देखिन्थे।
पहिलो हाफमा उनले उत्कृष्ट खेल देखाएका थिए।
पहिलो गोलले उनको कौशल र धैर्यता देखाएको थियो। उत्कृष्ट पासको सदुपयोग गर्दै उनले उत्कृष्ट गोल गरेका थिए।
आर्जेन्टिनी खेलाडी र टोलीका प्रशिक्षक सामपाउलीबीच मतभेद रहेका विवरणहरू बाहिर आएका छन्।
दोस्रो हाफका लागि मैदानमा प्रवेश गर्नुअघि मेस्सीले टोलीका सदस्यहरूसँग सामूहिक कुराकानी गरिरहेको देखिएको थियो।
पहिलो हाफमा नाइजेरियाविरुद्ध गरेको गोलसँगै मेस्सी तीनवटा विश्वकप फुटबल प्रतियोगितामा गोल गर्ने म्याराडोन र बाटिस्टुटापछि तेस्रो आर्जेन्टिनी खेलाडी बनेका छन्।