शिक्षा

राम्रो नतिजा ल्याउनेलाई शिक्षकले दिए रु दशहजार

बेनी, म्याग्दी । बेनी सामुदायिक माविबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शिक्षकले आफ्नो तलबबाट प्रतिविद्यार्थी रु १० हजार नगद र कदरपत्रले सम्मान गरेका छन् ।

मंगलबार विद्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा अंग्रेजी विषयका शिक्षक भरत थापा, विज्ञानका प्रकाश सुवेदी र गणित विषयका शिवराम पौडेलले ३।७० जिपिए ल्याउने विद्यार्थी अमृत आचार्य, अश्नवी शर्मा र आशिका आचार्य प्रत्येकलाई नगद रु १० हजारसहित सम्मान गरेका हुन् ।

अभिभावककै उपस्थितिमा शिक्षकले प्रतिविद्यार्थी रु १० हजार र प्रमाणपत्रले सम्मान गरेका थिए । विद्यार्थीले जिल्लामै उत्कृष्ट नतिजा ल्याएर शिक्षक र विद्यालयको शिर उच्च बनाएको भन्दै शिक्षकले नगद पुरस्कारको शुरुवात गरेका हुन् । तीनवटै विषयमा विद्यार्थीले अपेक्षा गरे अनुसारको जिपीए ल्याएका छन् ।

विद्यालयमा आयोजित सम्मान कार्यक्रममा शिक्षा विकास समन्वय एकाइका प्रमुख दलबहादुर थापा, सल्लाहकार यामबहादुर शाक्य र शिक्षकले विद्यार्थी र अभिभावकलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।