शिक्षा

गोर्खा वेल्फेयरको सहयोगमा माध्यमिक विद्यालय भवन निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माध्यमिक विद्यालयमा ब्रिटिस गोर्खा वेल्फेयर ट्रष्टले आठकोठे भवन निर्माण गरिदिएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको यस विद्यालयमा वेल्फेयरले रु एक करोड ६६ लाखको लागतमा सुविधायुक्त पक्की भवन निर्माण गरेको हो ।

भूकम्प प्रतिरोधी भवन निर्माण गरी वेलफेयरले हालै विद्यालयलाई भवन हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर बुद्धुजाले जानकारी दिए।

“तीन वर्षअघिको भूकम्पका कारण विद्यालय भवन क्षतिग्रस्त भएको थियो, विद्यालयका पूर्वअध्यक्ष बागविर पाइजाको विशेष पहलमा वेल्फेयरमार्फत भवन निर्माण भएको छ, भवन निर्माणसँगै विद्यालयको पठनपाठनमा सहजता भएको छ”– अध्यक्ष बुद्धुजाले भने । वेल्फेयरले भूकम्पपछिको पुनःनिर्माणका लागि सञ्चालन गरेको क्विक रेस्पोन्स परियोजनाले सो भवन बनाएको हो ।

गत मंसिर १४ गतेदेखि शुरु भएको भवन निर्माण कार्य असार ६ गते सम्पन्न भएको छ । वेल्फेयरले विद्यालय भवनसँगै पाँचकोठे छुट्टै शौचालयसमेत निर्माण गरेको विद्यालयका प्रधानाध्यापक केदार कार्कीले जानकारी दिए।

कक्षा १२ सम्मको पठनपाठन हुने सो विद्यालयमा हाल १९१ जना विद्यार्थी अध्ययनरत छन् । भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त यस विद्यालयमा सरकारी, संघसंस्था, समुदाय तथा विभिन्न ठाउँमा रहेका शिखवासीका तर्फबाट आर्थिक स्रोत जुटाएर करीब रु तीन करोडभन्दा बढीको पूर्वाधार निर्माण गरिसकिएको प्रअ कार्कीले बताए ।