शिक्षा

डडेल्धुराका ५९४ विद्यार्थीलाई सौर्य टुकी

डडेल्धुरा । विद्यार्थीको पढाइमा क्षमता विकासका लागि डडेल्धुराका विद्यालयमा सौर्य टुकी वितरण गरिएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्धनको शैक्षिक उज्यालो कार्यक्रमअन्तर्गत अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाका दुई गरी आठवटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मंगलबार सौर्य टुकी वितरण गरिएको हो ।

अमरगढी नगरपालिकाभित्रका सबै छवटा र नवदुर्गा गाउँपालिकाका दुई माविमा अध्ययनरत कूल ५९४ विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको अमरगढी नगरपालिकाका सूचना अधिकृत लालबहादुर साउदले जानकारी गराए ।

आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई टुकी दिइएको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए । औषतमा एक विद्यालयबाट कक्षा ९ र १० मा अध्ययनरत ५० जना विद्यार्थीलाई टुकी दिइने भनिए पनि विद्यालयले छनोट गर्दा गरीब, जेहेन्दार विद्यार्थी संख्या बढी हुन आएपछि टुकी पनि बढाइएको प्रमुख ओझाको भनाइ रहेको छ ।

टुकी वितरणअन्तर्गत मंगलबार अमरगढी सदरमुकाम खलंगामा रहेको महेन्द्र नमूना माविका ६३ जना विद्यार्थीलाई वितरण गरिएको अमरगढी नगरपालिकाले जनाएको छ ।

बेलाबेलामा बत्ती गइरहने भएकाले सोलार टुकीले गृहकार्य गर्न तथा अध्ययनमा सहयोग मिल्ने भन्दै विद्यार्थी हर्षित बनेका छन् । अँध्यारोका कारण पढ्नबाट नरोकिने विद्यार्थीको भनाइ छ । एक वर्षको वारेण्टी भएका सौर्य टुकीबाट दुईवटा बल्व बाल्न सकिने वैकल्पिक ऊर्जा प्रवर्धनका प्रतिनिधि लालमणि पन्तले जनाए ।

दिनभरि घाममा राखे रातभरि दुईवटा चीम बाल्न मिल्ने उहाँको भनाइ छ । यस सौर्य टुकीको अहिलेको बजार मूल्य रु तीन हजार ५०० देखि रु चार हजारसम्म पर्ने जनाइएको छ ।