लुम्बिनी

रोल्पामा आपराधिक घटना बढ्दैः आठ महिनामा छ जनाको हत्या

लिबाङ, रोल्पा । रोल्पामा आपराधिक घटना बढ्दै गएका छन् । जिल्लामा बञ्चरो प्रहारबाट मात्र आठ महिनामा छ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकअनुसार छुट्टाछुट्टै स्थानमा भएको घटनामा तीनजनाको बञ्चरो प्रहारबाट छ जनाको ज्यान गएको हो । २०७४ चैत २९ गते गंगादेव गाउँपालिका–४, सालेकुञ्जका ३१ वर्षीय दीपेन्द्र बस्नेतले आफ्नै ससुरा बुबाको बञ्चरो प्रहार गरी हत्या गरे । यसरी आफ्नै ज्वाइँको बञ्चरो प्रहारबाट सोही गाउँपालिका–४ तिखेचुलाका ५२ वर्षीय नरसिंह थापाले अनाहकमा ज्यान गुमाउनु प¥यो ।

प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार मदिरा सेवन गरी छोरीलाई कुटपिट गरेको खबर पाएपछि छोरीको अवस्थाका बारेमा बुझ्न गएका थापालाई आवेसमा आई उनका ज्वाइँ दीपेन्द्र बस्नेतले हत्या गरेका हुन् ।

अभियुक्त बस्नेतलाई घटनालगत्तै प्रहरीले पाखापानीको जंगलबाट पक्राउ गरी आफ्नो नियन्त्रणमा लिइएको थियो । जिल्ला अदालत रोल्पाको आदेशानुसार हाल उनी पुर्पक्षका लागि थुनामा छन् । यसरी पिताको निधन तथा पति कानूनी कठघरामा परेपछि पीडित परिवारमा अझ पीडा थपिएको आफन्तले बताएका छन् ।

यसैगरी, यही २०७४ चैत १९ गते घरायसी विवादका कारण त्रिवेणी गाउँपालिका–२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर विकले बन्चरो प्रहार गरी दाजुका छोराछोरी एकैसाथ हत्या गरेका थिए । हाल खर्कबहादुर पनि पुर्पक्षका लागि थुनामै छन् ।

खर्कबहादुरले आफ्नै दाजु पर्ने सोही गाउँपालिकाका गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी बसन्ती विकको १९ गते साँझ ४ बजे घर नजिकै खेलिरहेको अवस्थामा बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
यसरी काखका दुवै सन्तानको एकैसाथ निधन भएपछि विक दम्पतीको काख रित्तिएको छ भने सिंगो गाउँ नै दुखी एवं विक्षिप्त भएको छ ।

यसैगरी २०७४ कात्तिक २४ गते रोल्पा नगरपालिकास्थित कोर्चाबाङका ४३ वर्षीय लिलबहादुर पुनले आफ्नै छोरी २४ वर्षीय पेवावती केसी तथा नातिनी २ वर्षीया दीपा केसी र ६/७ महिनाकी नेहा केसीको बञ्चरो प्रहार गरी हत्या गरेका थिए ।

बिरामी परेर भेट्न गएका बाबुको हातबाट आफू र आफ्ना दुई नाबालक सन्तानको जीवन निमोठिएपछि उनका श्रीमान् तथा घरपरिवार विचल्लीमा परे ।

यी सबैजसो घटनामा मर्ने र मार्ने दुवै पक्ष आफन्त परेपछि जिल्लावासीलाई सशंकित बनाउन थालेको छ । क्षणिक आवेशमा आउँदा यसले निम्त्याउने असरका बारेमा नसोची हतारको निर्णयले आफन्तको ज्यान लिनेक्रम बढेपछि रोल्पाली थप चिन्तित बन्न थालेका छन् ।

प्रनाउ फुयालका अनुसार घटनामा संलग्न जो कोहीलाई कानूनी कारबाही हुन्छ, हुनुपर्छ र भइरहेको छ । तर पनि यतिमात्र घटना नियन्त्रणका लागि पर्याप्त नभएको हुँदा यस किसिमका घटना न्यूनीकरणका लागि मनोसामाजिक परामर्शको खाँचो हुनेमा उनको जोड छ ।

उनका अनुसार जिल्लामा विभिन्न कारणले गर्दा आत्महत्याका घटना पनि बढिराखेको अवस्था छ । त्यसैले मनोसामाजिक परामर्शमा विशेष जोड दिनुपर्ने देखिन्छ, उनले भने ।

यस किसिमका घटना नियन्त्रणका लागि प्रहरी एक्लैको प्रयास पर्याप्त नहुने भएको हुँदा सामाजिक अभियन्ता पनि सक्रियरुपमा लाग्नु पर्ने अधिकारकर्मीको सुझाव छ ।