खेलकुद

सगरमाथा कप भलिबल फाइनल आज

धनकुटा । चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा भइरहेको प्रदेशस्तरीय प्रथम सगरमाथा कप भलिबल प्रतियोगिताको फाइनलमा सुनसरी र ओखलढुंगाबीच प्रतिस्पर्धा हुने भएको छ ।

सोमबार भएको १ नं प्रदेशस्तरीय भलिबल खेलको सेमिफाइनलमा सुनसरीले ताप्लेजुङलाई र ओखलढुंगाले भोजपुरलाई पराजित गरेपछि सुनसरी र ओखलढुंगाबीच फाइनल खेल आज हुने निश्चित भएको छ । सोमबार भएको सेमिफाइनलको पहिलो खेलमा सुनसरीले ताप्लेजुङलाई २५–१२, २५–२२ र २५–१५ को सिधा सेटमा र दोस्रो सेमिफाइनल खेलमा ओखलढुंगाले भोजपुरलाई २५–२०, २५–२०, २५–१९ सिधा सेटमा पराजित गरेका थिए ।

सेमिफाइनलमा पराजित ताप्लेजुङ र भोजपुरबीच तेस्रो स्थानका लागि आज फाइनल खेल हुनु अघि प्रतिस्पर्धा हुने प्रदेश नं १ स्तरीय भलिबल रेफ्री संघका अध्यक्ष विनय राईले बताए ।

नकआउट चरणमा भएका प्रतियोगितामा १ नं प्रदेशका १४ जिल्लाबाट १४ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा विजेता टोलीले रु ५० हजार नगदसहित ट्रफी, उपविजेताले नगद रु ३० हजारसहित फष्ट रनरअप ट्रफी र तेस्रो हुने टोलीले रु २० हजारसहित सेकेण्ड रनरअप ट्रफी पाउने आयोजकले जनाएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश नं १ को आयोजनामा भएको सगरमाथा कपमा सहआयोजक चौबिसे गाउँपालिका र व्यवस्थापक पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति र सहयोगी रारा क्लब चौबिसे राजारानीले समन्वय गरेका छन् ।