सुदूरपश्चिम

लगातार बढेको गर्मीले जनजीवन प्रभावित

धनगढी । लगातार बढ्दै गएको गर्मीका कारण कैलाली कञ्चनपुरको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । बढ्दै गएको गर्मी र सुक्खा मौसमका कारण बालबालिका, वृद्धवृद्धा र मजदूर वर्गमा थप समस्या भएको छ ।

गर्मी बढेसँगै श्वासप्रश्वासको समस्या, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता बिरामीको चाप स्वास्थ्य संस्थामा बढेको स्वास्थ्यकर्मीले बताएका छन् । गर्मी बढ्दै जाँदा सर्वसाधारण घर बाहिर निस्कन सकिरहेका छैनन् ।

गर्मी बढ्दै जाँदा कतिपय व्यक्ति गर्मी छल्नकै लागि कैलालीको चिसो मौसम रहने चुरेपहाडको बूढीतोला र खानीडाँडासम्म पुग्न थालेका छन् । वर्षा नभएको र गर्मी बढ्दै जाँदा आकाशको पानीको भरमा धान रोपाइँ गर्ने तयारीमा रहेका कृषकले पानीको अभावमा रोपाइँ गर्न सकेका छैनन् ।

बोरिङको पानी तानेर गरिएको रोपाइँ पानीको अभावमा सुक्न थालेको छ भने खेतबारीमा राखिएको धानको ब्याड सुकेर जान थालेको स्थानीय कृषक हरि चौधरीको गुनासो छ ।

यस क्षेत्रमा मनसुन अझैसम्म सक्रिय हुन सकेको छैन । तीन दिनअघि हावाहुरीसहित हल्का वर्षा भए पनि जमिनमा खसेको वर्षाको पानी तातेर तातो वाष्प बन्दा थप गर्मीको महसुस भएको थियो । यस क्षेत्रमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियसको आसपास पुगेको छ ।